पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानले संस्थाको स्थापना दिवस कला, साहित्य र सङ्गीतको क्षेत्रमा योगदान दिएका स्रष्टाहरूलाई सम्मान गर्दै मनाउने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठका अनुसार भोलि अर्थात बैशाख १४ गते आइतबार प्रतिष्ठानको भानु सभाहलमा स्रष्टा सम्मान तथा डकुमेन्ट्री प्रस्तुत गर्दै स्थापना दिवस मनाउन लागिएको हो । स्थापना दिवसको अवसरमा यसवर्ष प्रतिष्ठानले विभिन्न व्यक्ति तथा सङ्घसंस्थालाई कला, साहित्य र सङ्गीतको जगेर्ना, संरक्षण र प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान गर्दै छ ।

 सदस्य सचिव श्रेष्ठका अनुसार यसवर्ष प्रज्ञा साहित्य सम्मानबाट मुकुन्द शरण उपाध्याय र डा.जगनाथ रेग्मी, प्रज्ञा संस्कृति सम्मानबाट नेवा खलः कास्की र तमु प्ये ल्हुँ सङ्घ, प्रज्ञा कला सम्मानबाट वरिष्ठ कलाकार क्षेत्रलाल कायस्थ, प्रज्ञा सङ्गीत सम्मानबाट सङ्गीतकार तथा नृत्य निर्देशक धनबहादुर गुरुङ, प्रज्ञा नारी सम्मानबाट रङ्गकर्मी प्रमिला तुलाचन, प्रज्ञा युवा सम्मानबाट नाटककार केदार पौडेल र प्रज्ञा प्रोत्साहन सम्मानबाट  सरला  लामिछाने सरूलाई सम्मान गरिने छ ।

सदस्य सचिव श्रेष्ठसहितका पदाधिकारीहरूको चारवर्षे कार्यकाल आइतबार देखि नै सकिदै छ । सोही अवसरमा आइतबार नै चार वर्षको कार्यकाल भर सम्पन्न गरिएका उत्कृष्ट कार्यक्रमहरू समेटेर तयार पारिएको ३३ मिनेटको डकुमेन्ट्री भिडियो सार्वजनिक गर्ने जनाईएको छ । स्थापना दिवसको अवसरमा आइतबार समग्र गण्डकी प्रदेशको कला, संस्कृति समेटिएर प्रतिष्ठानले नै रिसर्च र रेकर्ड गरेका दुईवटा गीतहरूमा कलाकारहरूले नृत्य प्रस्तुत गर्ने छन् । 

आइतबार बाट नै प्रतिष्ठानले स्रष्टा परिचयपत्र वितरण गर्ने छ । सदस्य सचिव श्रेष्ठका अनुसार आइतबार देखि नै नेपाल मणिपाल शिक्षण अस्पतालसँग ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजनामा भएको सहमति कार्यन्वयन सुरु गरिने छ । जसअनुसार प्रतिष्ठानको परिचयपत्र भएका स्रष्टाहरूले मणिपालमा उपचार गर्दा १० देखि सत प्रतिशत सम्म छुट पाउने छन् ।

कला, साहित्य ,संगीत र संस्कृतिको बिधालाई महत्वका साथ स्थान दिँदै यिनको संरक्षण तथा प्रवर्धन गर्ने कार्य गरिरहेको प्रतिष्ठानको स्थापना २०७८ साल बैशाख १५ गते भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0