पोखरा । केपी ओली कप टि–२० राष्ट्रिय खुला पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरामा अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउन सके भारत– पाकिस्तान लगायत राष्ट्रका खेल खेलाउन सकिने बताए । नेपाल सरकारका प्रवक्ता समेत रहेका गुरुङले द्वन्द्व, विवाद वा विभिन्न कारणले भारत–पाकिस्तान जस्ता राष्ट्रले अन्य देशमा गएर खेल्नुपर्ने बाध्यता रहेको सुनाउँदै त्यस्ता प्रतियोगिता पोखरामा गराउन सम्भव रहेको बताएका हुन् ।
एसिया भित्र रहेका भारत–पाकिस्तान विवादका कारण खेल खेल्न बाहिरी राष्ट्र जाने गरेको सुनाउँदै त्यस्ता प्रतियोगिता पोखरामा ल्याउन सकिने बताएका हुन । ‘अहिले पाकिस्तान र भारतको बिचमा झगडा हुँदा क्रिकेट खेल्न दोस्रो देश जानू परेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता युएइ र कतारमा जान थालेको छ । एसियाको सबै ठाउँमा इस्ट एसिया होला वा साउथ एसिया सबै ठाउँमा त्यही छ । भौगोलिक रुपमा यो सुन्दर ठाउँ छ । पोखरामा अन्तर्राष्ट्रिय स्तरको स्टेडियम बनाउन सक्यौ भने त्यस्ता राष्ट्रहरू जो आफ्नो देशमा खेल्न मान्दैनन् उनीहरूलाई पोखरा ल्याउन सक्यौ भने नेपालको नाम रहन्छ गण्डकीको नाम रहन्छ र क्रिकेटको पपुलारिटी हुन्छ’ उनले भने, ’ यो वर्ष कति बजेट हाल्छ युवा तथा खेलकुद मन्त्रालय बाट आउला तर, मेरो तर्फबाट मैले के गर्नु पर्छ म पनि पहल गर्नेछु । पोखरामा मेघा स्ट्रक्चर बनाउन जरुरी छ ।’ पूर्वाधारको अभाव हुँदा पनि ठूला प्रतियोगिता गरेकोमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई धन्यवाद समेत व्यक्त गरे ।
एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले पोखरालाई क्रिकेटको हब बनाउनुपर्छ भनेर प्रतियोगिताको आयोजना गरेको सुनाए । उनले क्रिकेटमात्र नभइ देशव्यापी रुपमा विभिन्न खेलकुद प्रतियोगितालाई अघि बढाएको सुनाए । खेलले राष्ट्रलाई खेलाडी प्रदान गर्नेमा आफू आशावादी रहेको बताए । खेलकुद व्यवसायिक हुन सकेन भने खेल रहँदैन भनेर ठूलो नगद राशि राख्दै खेल खेलेपछि कमाउनु पर्छ र आर्थिक चलायमान हुनुपर्छ भन्ने अभिप्रायले प्रतियोगिताको पुरस्कार राशि समेत आकर्षक राखेको सुनाए । यस्तै एकेडेमीले राष्ट्रिय तेक्वान्दो वैशाखमा गर्न लागेको समेत सुनाए । वि.सं. २०६६ साल पुसबाट एकेडेमीको स्थापना भएको हो ।
