पोखरा। होटल सङ्घ पोखरा नेपालले आयोजना गर्ने २० औं फेवा नव वर्ष महोत्सव २०८२ को तयारीमा तीव्रता दिइएको छ । तयारिकै सन्दर्भमा छलफल कार्यक्रम आयोजना गरियो । कार्यक्रममा बोल्दै पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्था र आमा समूहहरूले चैत ३० गतेदेखि आगामी बैशाख १ गतेसम्म पोखरामा आयोजना हुन लागेको महोत्सवलाई सघाउने प्रतिवद्धता जनाएका छन् ।
सङ्घले सोमबार र मङ्गलबार दुई अन्तरक्रिया तथा छलफल कार्यक्रम राखी महोत्सव सफल बनाउन सल्लाह र सुझाव मागेको थियो । छलफल कार्यक्रममा सङ्घसंस्था र आमा समूहका पदाधिकारीले फेवा महोत्सव आफ्नै घरगाउँको महोत्सव भएको र यसले नेपाली कला र संस्कृतिको जगेर्नामा सघाउने भन्दै एक भएर सहयोग गर्ने भनाई राखेका थिए ।
सङ्घका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले फेवा महोत्सवको तयारी द्रुत गतिमा अगाडि बढ्दै गरेको जानकारी गराए । विगतका कमीकमजोरी सच्याउँदै सबैको सल्लाह र सुझाव अनुसार महोत्सव सञ्चालन गरी भव्य रुपमा सम्पन्न गरिने अध्यक्ष सुवेदीले बताए । उनले हरेक वर्ष फेवा नव वर्ष महोत्सव परिष्कृति रुपमा सञ्चालन गर्दै आइएको स्मरण गराउँदै यसपटक पनि महोत्सव भव्य हुने भनाई राखे ।
नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले महोत्सवलाई सफल पार्न बोर्डले लामो समयदेखि सघाउँदै आएको स्मरण गराउँदै यसपटक पनि संस्थाको तर्फबाट सक्दो सहयोग गरिने भनाई राखे । बोर्डको मुख्य जिम्मेवारी पर्यटन प्रवर्द्धन भएको भन्दै उनले निजी क्षेत्रको सल्लाह र सुझाव अनुसार नै बोर्ड अगाडि बढ्ने बताए ।
होटल सङ्घ नेपालका केन्द्रिय सदस्य एवं होटल सङ्घ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले फेवा नव वर्ष महोत्सव नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको स्मरण गराउँदै यसको सफलताका लागि सबैले सकारात्मक सहयोगको खाँचो औंल्याए । आयोजक सङ्घका प्रथम उपाध्यक्ष एवं महोत्सवका सहसंयोजक दीपक श्रेष्ठले पनि कार्यक्रममा आफ्नो भनाई राखेका थिए ।
महिला सञ्जाल वडा नम्बर ६ का अध्यक्ष बविता मल्लले महोत्सवको उद्घाटनका अवसरमा आयोजना हुने झाँकी तथा र्यालीमा सहभागी हुने महिलाका सुझाव र गुनासो सुनेर अगाडि बढ्न सङ्घलाई सुझाव दिइन् । सङ्घका द्वितीय उपाध्यक्ष एवं महोत्सवका सहसंयोजक गणेशराज पहारीले केही चुनौति मोलेर भए पनि सङ्घ महोत्सवलाई सफल पार्न लागि परेको जानकारी गराए । सोमबारको कार्यक्रममा पोखरा पर्यटन परिषद् अन्तर्गतका विभिन्न सङ्घसंस्थाका अध्यक्षहरूले महोत्सव सफल पार्न आफ्नो तर्फबाट सक्दो सहयोग रहने बचनवद्धता प्रकट गरेका थिए ।
महोत्सवमा अवसरमा सङ्घ अन्तर्गतका सदस्य होटलमा रात बिताउने पाहुनालाई प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गरिने घोषणा यसअघि नै गरिसकिएको छ । सङ्घले महोत्सवकै प्रचारका लागि हालै पूर्वी नेपालमा जाउँ है पोखरा अभियान सम्पन्न गरेको थियो ।
स्थानीय ड्यामसाइडदेखि खहरेसम्म सडकमा नै सञ्चालन हुने महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवर्द्धन गर्ने मुख्य उद्देश्य सहित पर्यटन, संस्कृति र खाना भन्ने नारासहित यो महोत्सव हुन लागेको हो । लेकसाइड स्थित अम्मटमा महोत्सवको उद्घाटन कार्यक्रम हुने छ । महोत्सवलाई पोखरा महानगरपालिका, होटल सङ्घ नेपाल, गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्डले सघाउने छन् । छलफल तथा अन्तरक्रिया कार्यक्रमको सञ्चालन सङ्घका महासचिव राजेन्द्र ढकालले गरेका थिए ।
