पोखरा । पोखरामा ५० करोड भन्दा बढीको लगानीमा ‘एभरग्रिन एकेडेमी’ सञ्चालनमा आएको छ । प्रतिभा एजुकेसन फाउण्डेसनले पोखरा तेर्सापट्टिस्थित साविक कल्पना सिनेमा हलको स्थानमा अत्याधुनिक भवन निर्माण गरी एकेडेमी सञ्चालनमा ल्याएको हो । एकेडेमी मार्फत यसै शैक्षिक सत्रदेखि पठनपाठन सुरु गर्न लागिएको पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ । नर्सरीदेखि कक्षा ५ सम्म पढाइ हुने यस एकेडेमीका अध्ययन गराउनका लागि नर्सरीको मासिक फि न्यूनतम १४ हजार लाग्ने एकेडेमीका निर्देशक किरण सापकोटाले बताए । यसमा ट्युसन फी, दुईपटकको खाजा र डोर टु डोर लक्जरी भेइकलमा लाने लैजाने सुविधा रहने उनले खुलाए ।
आगामी वर्षदेखि कक्षा ६ देखि १० सम्म विस्तार गर्ने योजना छ । विद्यालयमै नर्ससहितको हेल्थ डेस्क, साइन्स ल्याब, लाइब्रेरी, तल्ला चढ्न लिफ्टसहित अत्याधुनिक सेवासुविधा उपलब्ध गराइने एकेडेमीले जनाएको छ । फाउण्डेसनद्वारा सञ्चालित प्रतिभा माविको शैक्षिक सफलतासँगै यो एकेडेमी स्थापना गरिएको प्रतिभा एजुकेसन फाउण्डेसनका अध्यक्ष नारायणप्रसाद पौडेलले बताए ।
विद्यार्थीलाई सिर्जनात्मक, व्यावहारिक तथा आधुनिक शिक्षा प्रदान गर्ने उद्देश्य राखेको पौडेलले बताए । ‘एकेडेमीको मुख्य उद्देश्य भनेको प्रत्येक विद्यार्थीको वैयक्तिक भिन्नतालाई सबलीकरण गराउनु हो ।’ उनले भने, ‘विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित (स्टीम) र उन्नत प्रणालीमा आधारित शिक्षा प्रदान गर्नु हो ।’
‘प्रत्येक विद्यार्थी फरक–फरक हुन्छन्, त्यसैले उनीहरूको प्रतिभा पहिचान गरी सोहीअनुसार सिकाइ प्रविधि अपनाइनेछ,’ पौडेलले थपे ।
एभरग्रिन एकेडेमीले समावेशी र विद्यार्थी केन्द्रित शिक्षा प्रणालीलाई केन्द्रमा राखेर शैक्षिक गतिविधि सञ्चालन गर्ने एकेडेमीका निर्देशक सापकोटाले बताए । उनले भने, ‘हामी पाठ्यक्रम र परीक्षामा आधारित मात्र शिक्षा दिन्नौँ । बरु विद्यार्थीलाई जीवनका विभिन्न पक्षमा सक्षम बनाउन चाहन्छौँ ।’
निर्देशक सापकोटाका अनुसार एकेडेमीले विद्यार्थीको व्यक्तिगत आवश्यकतालाई ध्यानमा राखेर शिक्षा प्रदान गदर्छ । ‘विद्यार्थीको सोंच र सिर्जनात्मक क्षमता प्रकट गर्न र उनीहरुलाई भविष्यका चुनौतीसँग सामना गर्न सक्षम बनाउने हो । जसका लागि विद्यार्थीको प्राकृतिक जिज्ञासा र अन्वेषणको भावना अभिवृद्धि गर्नमा केन्द्रित रहेर अध्यापन गराइन्छ ।’ उनले भने–‘यसले विद्यार्थीलाई विभिन्न विषयसँग सम्बन्धित समस्याको समाधानमा अग्रसर बनाउँछ, जसले उनीहरुमा विश्लेषणात्मक र समस्या समाधान सीपको विकास गर्नेछ ।’
विद्यार्थीको समग्र व्यक्तित्व विकासको लागि विशेष योजना बनाएर शैक्षिक गतिविधि सञ्चालन गर्ने तथा शिक्षक र विद्यार्थीबीचको सहकार्यलाई पनि उत्तिकै प्राथमिकता दिने निर्देशक सापकोटाले बताए ।
प्रत्येक कक्षामा २४ जनासम्म विद्यार्थी भर्ना गरिनेछ । विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न कक्षाकोठाको संख्यालाई सीमित राखिएको विद्यालयले जनाएको छ । अत्याधुनिक साइन्स ल्याब, कम्युटर ल्याब, हाइजेनिक खाजाको व्यवस्था, एसीसहितको बस सुविधा, सबै विद्यार्थीका लागि कपडा तथा किताब राख्ने दराजको व्यवस्था गरिएको छ । विद्यालय पोशाक नतोकिने एकेडेमीले जनाएको छ ।
















