पोखरा । रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज र पोखरा इन्टरनेटको संयुक्त आयोजनामा यहीं चैत १६ गते शनिवार हुने वृहत रक्तदान कार्यक्रमको तयारीमा तीव्रता दिइएको छ । रक्तदान कार्यक्रमलाई भव्य बनाउदै रक्तदातालाई यसतर्फ उत्प्रेरित गर्नको लागि निरन्तर रक्तदान कार्यक्रम आयोजना गरिदै आएको रेडियोका स्टेसन म्यानेजर सञ्जय कुमार मल्लले बताए ।
रेडियोले सामाजिक उत्तरदायित्व अन्तरगत “जीवन बचाउन रक्तदान गरौँ” भन्ने नाराको साथमा २३ औं वृहत खुला रक्तदान कार्यक्रम आयोजना गरेको मल्लले खुलाए ।
रक्तदान कार्यक्रमलाई सफल बनाउन विभिन्न समितिहरू गठन गरेर तयारी अगाडि बढाइएको रक्तदान कार्यक्रमका संयोजक आरजु बिष्ट सल्यानीले बताए । उनले शनिबार बिहान ७ बजेबाट रेडियोको प्राङ्गण गैह्रापाटन पोखरामा आयोजना हुने रक्तदान कार्यक्रममा सहभागी बन्दै रेडियोको अभियानलाई साथ दिन सबैमा आग्रह गरेका छन् ।
रेडियोले २०५८ सालदेखि नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ । स्थापना कालदेखि हालसम्म ७ हजार ७ सय ३ युनिट रगत सङ्कलन गरिसकेको प्रचार प्रसार संयोजक राजाराम पौडेलले जनाए । गत वर्षको संस्करण २ सय ७ युनिट रगत सङ्कलन भएको थियो । सबैको साथ सर्पोटले यसपालीकाे कार्यक्रम सफल बन्ने कार्यक्रम व्यवस्थापक नारायण पौडेलको विश्वास छ ।
