पोखरा । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराद्वारा आयोजित ‘वाडा अटो सो २०२५’ को तयारी तिव्र भएको छ ।  कार्यक्रमको प्रचारप्रसारकै क्रममा आयोजकले मङ्गलबार पुनः मोटर र्‍यालीको आयोजना गरेको कार्यक्रमका प्रचार संयोजक एवम् आयोजक संस्थाका महासचिव विनय थापाले जानकारी दिए ।  

अमरसिंहचोकबाट शुरु भएको मोटर र्‍याली छोरेपाटनको गुप्तेश्वर महादेव गुफा, लेकसाइड, बाटुलेचौर हुँदै महेन्द्रगुफा पुगेको थियो । पोखरा भ्रमण वर्षको सन्दर्भ पनि रहेकोले पोखराका पर्यटकीय गन्तव्यहरूमा मोटर र्‍याली गरेको उनले बताए ।  र्‍यालीका ४० वटा गाडी सहभागी थिए । मोटर र्‍याली अमरसिंहचोकमा आएर समापन भएको थियो ।

कार्यक्रमको पूर्व सन्ध्यामा तयारीका साथै विभिन्न रचनात्मक कार्यक्रम गरेको आयोजकले बुधबार सरसफाइ कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक निरन केसीले बताए । सरसफाइ कार्यक्रम पोखरा नयाँबजारबाट शुरु भइ पृथ्वीचोकमा पुगेर सम्पन्न हुनेछ । चैत १४ देखि १७ सम्म पोखराको अमरसिँहचौरमा अटो सो हुदैछ

प्रदर्शनीमा १९ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्सियल, ७ वटा ब्राण्डका २–पाङ्ग्रे लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिजहरू तथा वित्तीय संस्थाहरूका २० वटा स्टलहरू रहने छन् ।  प्रदर्शनीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहभागितामा सवारी साधन सुरक्षा सम्बन्धी जानकारी, सडक सुरक्षा तथा ट्राफिक नियम पालना सम्बन्धी विविध जानकारी मूलक कार्यक्रमहरू सञ्चालन गरिने छन ।  

 

अटो सोमा बन्दिपुर केबुलकार एण्ड टुरिजम लि.ले डोर प्राइज स्पन्सर अन्तर्गत ३ सय वटा केबुलकार टिकट उपलब्ध गराउने  छ  ।  प्रदर्शनी अवलोकन गर्न आउने महानुभावहरूले टिकटमा गोलाप्रथाद्वारा सो केबुलकारको टिकट प्राप्त गर्न सक्नेछन् । ४ दिनसम्म चल्ने अटो शोलाई ३५ हजार आगन्तुकहरूले अवलोकन गर्ने विश्वास आयोजकले  लिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0