पोखरा । पोखरामा लायन ग्याल्पो लामा स्मृति राष्ट्रिय भेट्रान ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । यही चैत्र १६ र १७ गते हुने यो प्रतियोगिता लायन्स क्लब अफ पोखरा अन्नपूर्णको आयोजनामा हुन लागेको हो । पोखरा रङ्गशालामा हुने प्रतियोगिताको तयारीमा तीव्रता दिइएको आयोजकले मङ्गलबार पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।
४५ वर्ष माथिको मेन्स डबल्स तथा ५५ वर्षमाथिको मेन्स डबल्स र महिला डबल्सका खेलहरू सञ्चालन हुने प्रतियोगिता संयोजक तथा लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष डम्मरसिंह गुरुङले जानकारी दिए । प्रतियोगितामा ७० भन्दा बढि टिमको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगितामा सहभागिता जनाउनका पुरुषतर्फ ३ हजार र महिलातर्फ २ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको संयोजक गुरुङले जानकारी दिए । खेलाडीहरूले चैत्र १४ गतेसम्म टिम दर्ता गराउन सक्ने छन् । प्रतियोगितामा पूर्व ब्याडमिन्टन खेलाडीहरूको सहभागिता रहने संयोजक गुरुङले जानकारी दिए ।
मेन्स ४५ वर्षमाथिको डबल्सतर्फको विजेताले ५० हजारसहित मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुने दुई टिमले १५/१५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै ५५ वर्षमाथिको मेन्स डबल्सतर्फ पहिलो पुरस्कार ४० हजारका साथमा मेडल प्रमाण-पत्र, दोस्रो पुरस्कार २५ हजारका साथमा मेडल प्रमाण-पत्र तथा तेस्रो हुने दुई टिमका लागी नगद रु १०/१० हजारका साथमा मेडल प्रमाण पत्रको व्यवस्था गरिएको छ । महिला डबल्सतर्फ पहिलो पुरस्कार २० हजार, दोस्रो पुरस्कार १५ हजार र तेस्रो पुरस्कार दुई टिमलाई ८/८ हजारका साथमा मेडल र प्रमाण-पत्र प्रदान गरिने छ ।
ब्याडमिन्टन खेलको विकासका साथै शारीरिक रूपमा तन्दुरुस्त, मानसिक रूपमा सचेत र सामूहिक सद्भाव अभिवृद्धि गराउने तथा खेलको माध्यमबाट भाइचारा, राष्ट्रिय एकता र शान्तिको सन्देश दिने उद्देश्यले प्रतियोगिता गर्न लागिएको प्रतियोगिता प्रचारप्रसार संयोजक दूधमान गुरुङ आशिषले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्नका लागी सात लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ भने प्रतियोगीताबाट ४४ हजार रुपैयाँ बचत हुने अनुमान गरिएको छ । हामी सेवा गछौँ भन्ने मूल नारासहित लायन्स क्लब इनटरनेशनल डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गत रहेको लायन्स क्लब अफ पोखरा अन्नपूर्णले विगत १९ वर्षदेखि स्वास्थ्यका लागी खेलकुद, सेवाका लागी स्वास्थ्य भन्ने नारासहित ब्याडमिन्टन प्रतियोगिताहरू गर्दै आइरहेको संस्थाका अध्यक्ष गणेश छविले जानकारी दिए । प्रतियोगिताको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले गर्नेछन् ।
