पोखरा । नेपाल कम्युनिष्ट पार्टी(एमाले) पोखरा महानगरपालिका कमिटी -५ ले वृहत जनजागरण कार्यक्रम आयोजना गरेको छ । वडा नं ५ को भूगोलमा र्याली सहित जनजागरण अभियानको सुरुवात गरिएको हो । नेकपा एमाले पार्टी केन्द्रीय सचिवालयको ४६औँ बैठक को निर्णय एवं कास्की जिल्ला कमिटी को चैत्र ९ गते को विस्तारित बैठक को निर्देशन अनुरूप यो कार्यक्रम भएको हो । पोखरा महानगरपालिका का ३३ वटै वडामा एकै दिन एकै साथ गर्न गइरहेको वडा स्तरीय जनजागरण कार्यक्रम अन्तर्गत पोखरा ५ को कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको नेकपा एमाले पोखरा महानगरपालिका वडा कमिटी ५ का अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए ।
अध्यक्ष बरालको अध्यक्षता मा भएको उक्त कार्यक्रममा वडा कमिटी -५ को भूगोल वाट प्रतिनिधित्व गर्ने गण्डकी प्रदेश कमिटीका सदस्यहरू, कास्की जिल्ला कमिटीका सदस्यहरू, पोखरा महानगरपालिका कमिटीका उपसचिव हरिमाया विश्वकर्मा एवं सदस्यहरू एवं पार्टी को विभिन्न जनसङ्गठनमा आबद्ध नेताहरू सहित वडा नं -५ का वडा अध्यक्ष विष्णु प्रसाद बराल एवं जनप्रतिनिधिहरू , वडा नं -५ का पूर्व जनप्रतिनिधिहरू र वडा्वासी कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
वडा कमिटी -५ का सचिव वसन्तराज गौतमले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष पान प्रसाद तिमिल्सिनाले उपस्थिति सम्पूर्णलाई स्वागत गरेका थिए । जनजागरण कार्यक्रम को मर्म र मूल उद्देश्य का बारेमा प्रकाश पार्दै वडा कमिटी – ५ का अध्यक्ष लक्ष्मण बरालले एक पटक कपडा किनेर सिलाएको लुगा पुरानो भएर सिलाउनै नमिल्ने गरि मकाएर च्यातिएपछि त्यसलाई फेरि सिलाएर लगाउँछु भन्नु कति व्यवहारिक छ भन्ने उदाहरण दिदैँ जरादेखि नै उखालेर फालिएको राजतन्त्र फेरि आउने कुरा पनि मकाएर फालेको लुगा जस्तै भएको बताए । अहिले राजा फर्काएर देश बनाउँछु भन्नु हाँस्यास्पद भएको भन्दै राजा फर्कन सम्भव नभएको दावी गरे । एउटा जनताको छोरालाई अर्को गरिब किसानको छोरोले प्रजातन्त्रको सुन्दर पक्ष र परिपाटी अवलम्बन गर्दै शासन गर्ने र गराउने पद्धतिलाई छोडेर वंशका आधारमा हजुरबा पछि छोरा र त्यसपछि नातिले पालो पालो जनतालाई रैती बनाइ शासन गर्ने पद्धति अब जनतालाई किमार्थ सह्य नहुने प्रष्ट पारे । यो कुरा नबुझ्नेलाई बुझाउन देश भरि सबै वडाहरूमा जागरण अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
प्रदेश कमिटी सचिवालय सदस्य धन बहादुर नेपालीले सफल नेतृत्वले स्कुल कलेज बनाउँछन् र शासकले जेलखाना बनाउछन् भन्ने कुरा जोड्दै सामन्तीका अवशेषहरू क्रान्ति सफल भए पश्चात प्रतिगमनका लागि उठ्ने गरेको इतिहास अध्ययन गरेका छौ भन्दै प्रतिगमनको दिवा स्वप्न देखेमा त्यसलाई निमिट्यान्न पार्न एमाले तयार रहेको दावी गरे ।
कार्यक्रम मा जिल्ला कमिटी सदस्य उज्ज्वल खत्री , महानगर कमिटी उपसचिव हरिमाया विश्वकर्मा, पूर्व पार्टी कमिटी अध्यक्ष विष्णुप्रसाद बराल लगायतका वक्ताहरूले आफ्ना महत्त्वपूर्ण भनाइ राखेका थिए । वडा सदनको हलमा उद्घाटन भएको उक्त जागरण अभियान तत पश्चात विशाल र्यालीमा परिणत भइ वडा परिक्रमा गरि समताचोकमा कोण सभा गरिएको थियो।
