पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा आशा जगाएको छ । नेपालका ९ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान मध्येको यो पोखरा १० रामघाटमा रहेको छ । २०७२ सालमा व्यवस्थापिका संसदबाट पारित भएको ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२’ मार्फत तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई स्तरोन्नति गरेर स्वायत्त शिक्षण तथा स्वास्थ्य संस्थाका रुपमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको थियो ।
उच्च दक्ष चिकित्सकको उत्पादन गरेर बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने यसको प्रमुख उद्देश्य रहेको छ । स्थापना पछि यसका नियमावलीहरू पाठ्यक्रमहरू तयार भए । ०७६ फागुनबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले शैक्षिक कार्यक्रमहरू सुरु गरेको हो । पोष्ट ग्रायजुयट स्नातकोत्तर तहमा शल्यचिकित्सा, मेडिसिन, बालस्वास्थ्य, स्त्री तथा प्रसुतिरोग, हाडजोर्नी र एनेस्थेसिया गरी ६ विद्याका १७ जना विद्यार्थीबाट अध्ययन-अध्यापन सुरुवात भएको हो । दुईवटा ब्याचको एमबीबीएसको विद्यार्थीहरू पास आउट भएर आफ्नो कार्यक्षेत्रमा खटिसकेका छन् । हाल १० वटा विभिन्न विधामा पोष्ट ग्रायजुयटको पढाइ भइराखेको छ । अहिले ९१ जना विद्यार्थी अध्ययनरत रहेको प्रतिष्ठानका उपकुलपति प्रा.डा.डुक बहादुर क्षेत्रीले जनाए ।
यहाँ दुई वर्ष देखि ब्याचलर लेभलको पढाइ पनि शुरु भएको छ । ब्याचलर अफ नर्सिङ विएनएस र बिएस्सी नर्सिङको पढाइ निरन्तर भैरहेको छ । अहिले उनीहरु तेस्रो वर्षमा अध्ययनरत छन् । एमबीबीएस अध्ययनको लागि चिकित्सा शिक्षा आयोगबाट अनुमति प्राप्त गरेर विद्यार्थी भर्ना गरेर निरन्तर रुपमा सञ्चालन भइराखेको उनले बताए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भन्दा पहिला यो विभिन्न नामबाट अस्पतालको रुपमा सञ्चालित थियो । २०१३ सालमा सोल्डर बोर्ड हस्पिटलकाे रुपमा परिचित थियो । त्यसपछि गण्डकी अञ्चल अस्पताल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हुँदै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा शैक्षिक कार्यक्रम र स्वास्थ्य सेवा प्रदान गर्ने नेपालकै ठूलो अस्पतालको रुपमा हाल सञ्चालित छ ।
२०७७ साल चैत्र २२ गतेबाट जिम्मेवारी प्राप्त गरेका प्रतिष्ठानका उपकुलपति प्रा.डा. क्षेत्रीको ४ वर्षको कार्यकाल सकिन लागेको छ । ४ वर्षको अवधिमा प्रतिष्ठान मार्फत केही सकारात्मक कार्यको प्रारम्भ भएको उनी बताउँछन् ।
तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई सुधार गर्ने कुरा, सेवा विस्तार गर्ने कुरा र आत्मनिर्भर बनाउने कुरामा केही उपलब्धि हासिल गरेको उनले सुनाए । ३ वटा अक्सिजन प्लान्ट सञ्चालन गरेर आत्मनिर्भर बन्नुलाई उनले उपलब्धि मानेका छन् । अहिले अक्सिजनको सटेज हुने अवस्था नरहेकोले यो ठुलो उपलब्धि भएको उनले बताए । कोरोनाको समयबाट पाठ सिकेर हाल आत्मनिर्भर भएको उनले प्रष्ट पारे ।
किड्नी ट्रान्सप्लान्टको सेवा पनि अर्को उपलब्धि रहेको छ । हालसम्म १६ जनाको किड्नी ट्रान्सप्लान्ट गरिसकेका उनले बताए । प्रत्येक हप्ता एकजनाको किड्नी ट्रान्सप्लान्ट गर्ने लक्ष्य रहेको छ । दिनको ३०–४० जना बिरामीको डायलासिस सेवा उपलब्ध गराइरहेको उनको भनाइ छ । मुटु रोगसँग सम्बन्धीत क्याथ ल्याबको कुरा पनि उपलब्धिको कुरा भएको भन्दै कयौ विरामीको जीवन बचाउन सफल भएको उनले उल्लेख गरे ।
पोखरामा भएको विमान दुर्घटनाबाट पाठ सिक्दै अहिले ७२ वटाको शव व्यवस्थापन गर्न सक्ने अवस्था बनाइएको छ । इर्मजेन्सी मार्फत एकैपटक ५० जनालाई सेवा दिने लक्ष्यका साथ इर्मजेन्सी विल्डिङ बन्दै गरेको उनले बताए । आइसियुका ९ बेड मात्र रहेकोमा यसलाई बढाएर २५ बेडमा विस्तार गर्न लागिएको छ । संरचना मर्मतको काम पनि भइरहेको छ । अनलाइन टिकटिङ, अनलाइन रिपोटिङ मात्र नभएर विलिङलाई एक्स्टेन्सन गरेर केही ठाउँमाविस्तार गरेर सेवामा सहजता प्रदान गरेको उपकुलपति क्षेत्रीले दावी गरे ।
यसका अलावा मेडिकल रिपोर्ट डिजिटलाइजेशन गर्ने प्रक्रिया सुरु गरिसकेका भइसकेको छ । ४० वर्ष अगाडि निर्माण भएको भवन मार्फत सेवा दिन अप्ठ्यारो भएको उनले सुनाए । अहिले दैनिक सरदर २ हजार विरामीले सेवा लिइरहेको छन् । विरामीको चापलाई अहिलेको संचरनाले थेग्न नसकेको र रेक्टोफिटिङको काममा ढिलाइ हुँदा समेत समस्या भएको उनले प्रष्ट पारे । केही संरचना निर्माणमा भएको ढिलाई समेतले अप्ठ्यारो भएको उनले उल्लेख गरे ।
दुईसय बेडको स्त्री तथा प्रसुती रोग विल्डिङ सञ्चालनमा आउँदा समेत बिरामीलाई सहजता भएको छ । सर्वसाधरणले अस्पतालबाट पाउने सेवा छिटो छरितो रुपमा दिने प्रयास भैरहेको उनको भनाइ छ । केही उपकरण मर्मत र नयाँ खरिद गरेर समेत सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रयास आफ्नो कार्यकालमा गरेको उनले बताए।
अहिले ब्याचलर लेभल र पिजि लेभलका विदार्थीको लागि छात्रावास, चिकित्सकको लागि आवास लगायतको अभाव भएकाे उनले सुनाए । केही शैक्षिक कार्यक्रम सञ्चालन गर्नको लागि यथेष्ट जनशक्ति नहुँदा समस्या भएको छ । उनले पब्लिक हेल्थ र नर्सिङमा मास्टर डिग्री कार्यक्रम सञ्चालन गरेर शैक्षिक कार्यक्रमलाई विस्तार गर्नुपर्ने आवश्यकता रहेको समेत औल्याए । अस्पताल ५०० बेड क्षमताको भएपनि संरचनाका कारण ४ सयको हाराहारीमा मात्र सञ्चालन गर्ने गरिएको उनले दावी गरे । प्रतिष्ठानको कुलपति प्रधानमन्त्री र सहकुलपति स्वास्थ्यमन्त्री रहने व्यवस्था रहेको छ ।
