पोखरा । एक वर्ष देखि पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति विहीन बनेको छ । तीन वर्षे कार्यकालका लागि २०७७ साल फागुन १९ गते कुलपतिमा नियुक्त भएका पदमराज ढकालको कार्यकाल २०८० फागुन १८ गते सकिएको हो । त्यसपछि हालसम्म पनि कुलपति सहित प्राज्ञ नियुक्त हुन नसक्दा प्रतिष्ठानका गतिविधि सञ्चालन हुन सकेका छैनन् । पोखराको दरबारथोकमा मासिक २२ हजार तिर्ने गरी भाडामा रहेको प्रतिष्ठानको कार्यालयमा दुई जना कर्मचारी खटाइएको भएपनि उनीहरु कार्यालय कुर्नमा मात्र सीमित भएका छन् ।
नेपालमा २०१४ साल असार ९ गते नेपाली साहित्य कला एकेडेमीको स्थापना भयो । भाषा, संस्कृति, साहित्य, सामाजिक शास्त्र तथा दर्शनशास्त्र सम्बन्धी विभिन्न विषयमा अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यकताको महसुस गरेर यसको गठन भएको थियो । गठन गर्नमा महाकवि लक्ष्मीप्रसाद देवकोटा सहित त्यतिबेलाका साहित्य क्षेत्रका स्थापित व्यक्तिहरूको महत्वपूर्ण भूमिका रहेको थियो । त्यसपछि यसको नाम नेपाल एकेडेमी हुँदै नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा परिणत भयो ।
देशमा गणतन्त्र आयो । कार्यविभाजन गरेर ललितकला प्रज्ञा–प्रतिष्ठान, सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र नेपाल प्रज्ञा–प्रतिष्ठान छुट्टाछुट्टै गठन भए । त्यसपछि तीनवटै प्रतिष्ठानले आफ्ना गतिविधि सञ्चालन गरिरहेका छन् । यो क्रम रोकिएको छैन । तर, पर्याप्त बजेट नहुँदा समग्र प्रदेश र जिल्लालाई समेटेर काम गर्न सम्भव भएन । अधिकांश गतिविधि केन्द्रमै सीमित बन्न पुगे ।
देशमा सङ्घीयता आएपछि प्रज्ञा–प्रतिष्ठानको आवश्यकता केन्द्र बाहिर समेत महसुस भयो । केन्द्रका तीनवटा एकेडेमीले ७७ जिल्ला भित्रका विभिन्न भूगोलहरू, त्यहाँ रहेका विभिन्न जातजाति, सङ्घसंस्था उनीहरूको उद्देश्य अनुसार सम्बन्धित ठाउँमा पुग्न सकेका थिएनन् । न्यून बजेटका कारण सम्भव समेत थिएन । यसरी उनीहरु पुग्न नसकिरहेको अवस्थामा त्यहाँको कला साहित्य सङ्गीत र संस्कृतिको वृत्ति विकास र प्रर्वद्धन र सम्वर्द्धन आवश्यक परिरहेको बेलामा यसको परिकल्पना गरियो । जसको सुरुवात पोखराबाट भएको थियो । त्यतिबेला पोखरा महानगरपालिकाको प्रमुख मानबहादुर जिसी थिए । त्यसपछि पालिका र प्रदेश स्तरका प्रज्ञा प्रतिष्ठानको स्थापना हुन थाल्यो । जुन क्रम निरन्तर जारी छ । यसरी खुलेका प्रतिष्ठानले सक्रियता पनि बढाइरहेका छन् । तर, इतिहास रचेको पोखरा प्रज्ञा-प्रतिष्ठान यतिबेला गतिविधि शून्य अवस्थामा पुगेको छ ।
संस्थापक कुलपति पदमराज ढकाल सहितको टिमको कार्यकाल सकिय पश्चात प्रतिष्ठानले औपचारिक कार्यक्रम गर्न सकेको छैन । प्रतिष्ठानको लागि यो वर्ष ३१ लाख बजेट छुट्याइएको छ । तर कुलपति नियुक्त नहुँदा र खटिएका कर्मचारीलाई अधिकार नदिँदा काम हुन सकेको छैन । संस्थापक कुलपति ढकाललले आफ्नो कार्यकालमा बजेटको अभावको कारण पर्याप्त कार्यक्रम गर्न नसकेपनि पोखरामा रहेका १ सय को हाराहारीका वाङमयिक संस्थासँगको सहकार्यमा यो क्षेत्रमा केही महत्वपूर्ण कार्यक्रम गरेका थिए ।
उनको कार्यकाल सकिने वित्तिकैको अवस्थामा कुलपति बन्नको लागि केही स्रष्टाले दौडधुप गरेका थिए । तर, महानगरपालिकाले चासो नदिँदा उनिहरुको दौडधुप घटेको छ ।
पोखरा प्रज्ञा प्रतिष्ठान ऐन अनुसार कुलपति, उपकुलपति चयन गर्नु अगाडि प्रज्ञासभाको सदस्य र प्रज्ञाप्रतिष्ठानको पदाधिकारीको मनोनयन र नियुक्तिको लागि उपप्रमुखको संयोजकत्वमा समिति निर्माण गर्नुपर्छ । सो समितिमा सम्बन्धित क्षेत्रका विज्ञहरूबाट महानगर प्रमुखले तोकेका २ जना सदस्य हुने व्यवस्था रहेको छ । समितिले प्रज्ञा सभा गठनको लागि नामहरु मनोनीत गर्दछ । पोखरा प्रज्ञा प्रतिष्ठान ऐन २०७६ को पहिलो संशोधनमा यसरी मनोनीत नामहरु मध्येबाट कुलपति, उपकुलपति र सदस्य सचिव प्रमुखले तोके बमोजिम हुने व्यवस्था छ । २०८० फागुन १९ गतेबाट कार्यकाल पूरा भएपनि अहिलेसम्म सिफारिस समिति नै गठन हुन सकेको छैन ।
यस विषयमा पोखरा महानगरपालिकाका प्रवक्त्ता मोतिलाल तिम्सिनासँग जिज्ञाशा राख्दा गतिविधि अगाडि बढिरहेको दावी गरे । तर कार्यालयमा पुग्दा यो आर्थिक वर्षमा २५ हजार रुपैयाँ बराबर किताब प्रकाशनको लागि सहयोग गर्ने बाहेकका गतिविधि नभएको पाइयो । प्रवक्ता तिम्सिनाले कुलपति नियुक्तिको विषय छलफलको चरणमा रहेको र महानगरपालिकाका केही महत्वपूर्ण विषयका कारण समेत केही ढिला भएको दावी समेत गरेका छन् । उनले अब छिट्टै नै यो विषय टुंगीने बताएका छन् ।
महानगरले पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरेको समयमा पोखरा महानगरका भाषा, साहित्य, संस्कृति, ललितकला, नाट्यकला, संगीतको अध्ययन अनुसन्धान लगायतका गतिविधि मार्फत प्रज्ञाप्रतिष्ठानको आवश्यकता थप मजबुत बनाउनुपर्ने हो । तर, प्रतिष्ठान आफै समस्यामा परेको छ । विस्तारै स्थापना गर्नुको औचित्यमाथि प्रश्न खडा हुने अवस्था समेत सिर्जना हुँदैछ ।
