पोखरा । प्रथम पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगिता सुरु भएको छ । गण्डकी प्रदेश ह्याण्डबल सङ्घको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवर्द्धन तथा कास्की जिल्ला ह्याण्डबल सङ्घको प्राविधिक सहयोगमा आइतबारदेखि राष्ट्रिय ह्यान्डबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको पहिलो दिन घरेलु टोली गण्डकीले दुई खेलमा जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
गण्डकीले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई हराउँदै अन्तिम चारको यात्रा सुरु गरेको हो । प्रतियोगिताको पहिलो दिन कुल चार खेल सम्पन्न भए । पहिलो खेलमा गण्डकीले सुदूरपश्चिमलाई ३५–१७ गोलले पाखा लगायो । गण्डकीका लागि पवन छन्त्यालले सर्वाधिक ११ गोल गरे । यस्तै सुदूरपश्चिमका लागि सरोजकुमार सिंहले ६ गोल गरे । दोस्रो खेलमा एपीएफले लुम्बिनीमाथि ३०–९ को फराकिलो जित निकाल्यो । एपीएफका लागि नितेश धिमालले ५ गोल गरे भने लुम्बिनीका लागि मनोज थारूले ५ गोल गरे ।
तेस्रो खेलमा गण्डकीले कर्णालीलाई ४२–१६ को अन्तरले पाखा लगायो । गण्डकीका लागि प्रलेश गुरुङले १२ गोल गरे । यो जितसँगै गण्डकी एक खेल अघि नै सेमिफाइनलमा प्रवेश गरेको हो । यस्तै चौथो खेलमा कोशीले सुदूरपश्चिमकालाई २२–१९ ले हरायो ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले देशलाई चिनाउने काम खेलाडीमात्रै गर्दै आइरहेको र गण्डकी प्रदेशमा खेलकुदमा विषयमा केही नविता योजनाहरू अघि सारिएको सुनाए । उनले खेलाडी बिमा, खेलकुदमा पदक लगायत विषयमा कार्यविधि बनाइ खेलाडी तथा खेलकर्मीको सम्मान गर्ने उद्देश्यका साथ अघि बढेको सुनाए । उनले राज्यले खेलकुदमा बजेट विनियोजन निकै न्यून गर्दा खेलाडीको विकास हुन नसकेको बताए ।
दक्षिण एसियाली ह्यान्डबल संघका उपाध्यक्ष तेज गुरुङले अब विस्तारै ह्यान्डबलका गतिविधिहरू अघि बढ्ने सुनाए । उनले विविध कारणले अहिलेसम्म नेपालमा ह्यान्डबलको गतिविधि हुन नसकेपनि अब भने त्यसको अन्त्य हुने दावी गरे।
