पोखरा । दोस्रो संस्करणको सूर्य तारा खेल महोत्सव २०८१ अन्तरगत नेकोस कप फुटबल प्रतियोगिताको उपाधि गन्नी फुटबल क्लबले जितेको छ । शनिबार भएको फाइनल प्रतिष्पर्धामा आयोजक सूर्य तारा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै गन्नीले उपाधि जितेको हो । उपाधि विजेता गन्नीले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र हात पार्यो । उपविजेता बनेको सूर्य ताराले २ लाख २ हजार २ सय २२ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्यो । प्रतियोगितामा सूर्य ताराका राजेश राईले वेस्ट प्लेयर बन्दै १५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्न सफल भए । फुटबल प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।
खेल महोत्सव अन्तरगतको राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिताको उपाधि भने आयोजक सूर्य तारा क्लबले हात पारेको छ । फाइनलमा दिदी बहिनी आमा समुहलाई पराजित गर्दे सूर्य तारा प्रथम भएको हो । प्रथम भएको सूर्य ताराले ३३ हजार ३ सय ३३ र द्वितीय हुने दिदी बहिनी आमा समुहले २२ हजार २ सय २२ रुपैयाँ सहित मेडल र प्रमाणपत्र हात पारे ।
कुल १४ टिमले सहभागिता जनाएको यो प्रतियोगितामा लालिगुराँस आमा समुह पोखरा ३० तृतीय बन्यो । बाग्लुङ समाज पोखरा २९ लाई पराजित गर्दै तेस्रो बनेको लालीगुँरासले ११ हजार १ सय ११ रुपैयाँ सहित मेडल र प्रमाणपत्र हात पार्यो ।
खेल महोत्सवमा खुला महिला ‘स्लो’ स्कुटर रेस प्रतियोगिता, खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता समेत समावेश गरिएको थियो ।
विजेता टिमलाई नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतले पुरस्कार वितरण गरे । प्रवक्ता गुरुङले प्रस्तावित लेखनाथ रङ्गशालाको स्तरोन्नतिको लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
सूर्य तारा क्लबका अध्यक्ष तथा खेल महोत्सवका कार्यक्रम संयोजक विष्णु पुनको अध्यक्षतामा भएको समापन समारोहमा एमाले स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री भानुभक्त ढकाल, एमाले गण्डकी अध्यक्ष नवराज शर्मा, नेपाल खेलकुद महासङ्घका अध्यक्ष एवं कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत, पोखरा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ लगायतले बोलेको नेपाल खेलकुद महासङ्घ कास्कीका अध्यक्ष ईश्वर अधिकारीले जानकारी दिए ।
प्रतियोगिताको मुख्य प्रायोजकमा कर्माचार्य बेक्स एण्ड फुड्स प्रालि र सह प्रायोजकमा बन्दिपुर केबल कार प्रालि रहेका छन् । प्रवर्द्धकको रुपमा पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय खेलकुद परिषद नेपाल, प्रदेश खेलकुद परिषद गण्डकी र नेपाल पर्यटन बोर्ड रहेको जनपरिचालन उपसमिति संयोजक समेत रहेका नेपाल खेलकुद महासङ्घ कास्की अध्यक्ष अधिकारीले बताए । सूर्य तारा क्लब र नेपाल खेलकुद महासङ्घको संयुक्त आयोजनामा पोखरा २९ स्थित प्रस्तावित लेखनाथ रङ्गशालामा यो खेल महोत्सव आयोजना भएको हो ।
