पोखरा । सांगीतिक विरासत फर्काउन पोखराबाट शुरु भएको ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रमको दोश्रो श्रृंखला शुक्रबार स्याङ्जाको वालिङमा हुँदैछ । पोखराको अपार सफलतापछि ‘व्याक टु नाइन्टिज’को देशव्यापी अभियान अन्तर्गत स्याङ्जाको वालिङ बजारमा कार्यक्रम हुन  लागेको हो । चेम्बर अफ कमर्स वालिङ र ट्रिनिटी क्लब वालिङको संयुक्त आयोजनामा हाल वालिङ बजारमा आयोजना भइरहेको प्रथम पिङ्क सिटी महोत्सवको अवसरमा ‘व्याक टु नाइन्टिज’ अन्तर्गत पोखराका ६ वटा व्याण्डहरूले आफ्नो प्रस्तुती मार्फत वालिङ घन्काउनेछन्

नब्बेको दशकमा व्याण्डहरूको राजधानी बनेको पोखराको विरासत फर्काउने अभियान अन्तर्गत वालिङमा दोश्रो शृङ्खला हुन लागेको ‘व्याक टु नाइन्टिज’का संयोजक तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रममा नब्बेको दशकमा उदाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याती कमाउन सफल डि–मर्चा, लेकाली, देउराली, ब्रोसिस, मध्याह्नभेगाबोण्ड व्याण्ड गुञ्जिने उनले बताए । स्थानीय व्यवसायी तथा समाजसेवाहरू बिजय मल्ल, बिजयविक्रम खाँड, सुनिल खनाल, टेकबहादुर कार्की, बिरेन्द्र केसी र सोनी खानको विशेष सहयोगमा आयोजित कार्यक्रममा सहभागीले आफूलाई ९० को दशकमा फर्किएर आफू हुर्किएको समय, परिवेश र माया, पिरती साट्दाको समयको स्मरण गर्दै रमाउन पाउनेछन्।

वालिङमा हुने यो कार्यक्रमसँगै देशव्यापी अभियान शुरु हुने पोखरा साङ्गीतिक कलाकार सङ्घका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले बताए  ९० को दशकमा उदाएर पोखरालाई पप गीतको राजधानी शहरको परिचय दिलाएका उनीहरूले सोही विरासत फर्काउने खोजेको सङ्घका सचिव भाष्करध्वज श्रेष्ठले बताए । वालिङपछि म्याग्दीको बेनी, लमजुङको बेसीसहर, चितवन भरतपुरको नारायणी किनार, विराटनगर, इलाम, बिर्तामोड, भक्तपुर, ललितपुर र काठमाडौँलगायतको ठाउँमा गर्ने तयारी भइरहेको सचिव श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममार्फत सङ्घले सुसुप्त अवस्थामा रहेका पुराना साङ्गीतिक व्याण्डहरुको पुनर्जागरण गर्ने र नयाँ पुस्तालाई सङ्गीतमा लागेर भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिदैँ यस तर्फको आकर्षण बढाउने उद्देश्य रहेको छ । यो अभियानमा प्रवर्द्धक बनेर पोखरा महानगरपालिकाले साथ दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0