पोखरा । पहिलो डेफब्लाइन्ड इनटरनेशनल क्षेत्रीय सम्मेलन पोखरामा हुने भएको छ । आयोजकले शुक्रबार पोखरामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर दिएको जानकारी अनुसार शनिबारबाट सुरु हुने सम्मेलनमा नेपाल सहित विश्वका दृष्टि र श्रवण दुवै क्षमतामा चुनौती भएका व्यक्ति श्रवणदृष्टि विहीन व्यक्ति, उनका परिवार, शिक्षक, अनुसन्धानकर्ता, विज्ञ, अधिकारकर्मी, नीति निर्माता र सरकारी अधिकारी भेला हुँदैछन् । 

‘नवप्रवर्तनशील श्रवणदृष्टि विहीन समावेशीकरण : शिक्षा रोजगार र सामुदायिक सहभागिता’ भन्ने मुख्य विषयवस्तुमा आधारित यो ऐतिहासिक सम्मेलनले सहभागीलाई ज्ञान आदान प्रदान, नवीन विचारहरू निर्माण र समावेशी प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । 

तीन दिनसम्म चल्ने सम्मेलनमा विश्व चर्चित व्यक्तिहरू विश्व डेफब्लाइन्ड महासङ्घका अध्यक्ष डाक्टर सान्जा टार्चे, श्रवण दृष्टि विहीन सङ्घ नेपालका प्रतिनिधि कृष्णमाया अधिकारी, सेन्स इनटरनेशनल इन्डियाका संस्थापक निर्देशक अखिल पाँल, पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ लगायत ७ जना व्यक्तिहरूले कि नोट स्पिकरको रुपमा श्रवणदृष्टिबिहीन अपाङ्गताका सम्बन्धमा अनुभवहरू बाँड्नेछन् । 

समावेशी शिक्षा, रोजगार र समुदायमा सहभागिता जस्ता विविध विषयहरूमा कार्यशाला र प्यानल छलफल हुनेछ । सहभागीहरूलाई एक अर्काका अनुभव साटासाट गर्ने, सबन्ध विस्तार गर्ने , चुनौतीबारे छलफल गर्ने र नवप्रवर्तन मार्फत श्रवण दृष्टिविहीन समुदायका लागि अवसरहरू सिर्जना गर्ने अवसर प्राप्त हुने आयोजकको भनाइ छ । 

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपाल नेत्रहीन सङ्घका अध्यक्ष शिशिर खनालले नेपालमा पनि श्रवणदृष्टिविहीनको लागि केही गर्न सकिन्छ भन्ने कुराको सिकाइ अन्तर्राष्ट्रिय स्तरबाट गर्न सम्मेलन आयोजना गरिएको बताए । यसले नेपाल सरकार पनि श्रवणदृष्टिविहीनको सवालमा सकारात्मक छ भन्ने सन्देश प्रवाह गर्ने उनको विश्वास छ । नेपालमा अहिले विभिन्न ५ ठाउँमा श्रवणदृष्टिविहीन बालबालिकाको लागि कक्षा सञ्चालन भइरहेको उनले बताए । 

अध्यक्ष खनालले पोखरामा संयुक्त प्रयासमा अमरसिंह माविमा श्रोत कक्षा सञ्चालन गरिएको खुलाए । विद्यालयले श्रवणदृष्टिविहीनको लागि भवन बनाउन जग्गा दिन ढिलाई गर्दा यसपालि छुट्याइएको बजेट फ्रिज हुने अवस्थामा पुग्न लागेको भन्दै चिन्ता व्यक्त गरे ।

एशियामा पहिलोपटक आयोजना गरिएको यो ऐतिहासिक सम्मेलनमा २० राष्ट्रका ३ सय भन्दा बढी सहभागी बन्नेछन् । डेफब्लाइन्ड इन्टरनेशनल डेफब्लाइन्ड व्यक्तिहरुको जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वव्यापी सञ्जाल हो । यो अन्तराष्ट्रिय गैर नाफामुलक संस्था हो । जसमा विभिन्न देशका संस्थागत तथा व्यक्तिगत सदस्यहरु छन् । डेफब्लाइन्ड इन्टरनेशनलले प्रत्येक ४ वर्षमा विश्व र क्षेत्रिय सम्मेलनहरु आयोजना गर्दै आएको छ ।

डेफब्लाइन्ड इन्टरनेशनलका अध्यक्ष मिर्को बौरको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा राष्टिय बहिरा महासंघ वरिष्ठ उपाध्यक्ष सत्यवति वाग्ले, सेन्स इनटरनेशनल इन्डियाका संस्थापक निर्देशक अखिल पाँल, सानु खिम्बाजा लगायतले बोलेका थिए । सम्मेलनको पूर्व सन्ध्यामा शुक्रबार प्रि-कन्फ्रेन्स समेत आयोजना भयो । सम्मेलनमा कुल ६८ वटा प्रस्तुती हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0