पोखरा । नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल सरकारले पोखरालाई नेपालको पर्यटनको राजधानी भनेर हालसम्म आधिकारिक निर्णय नगरेको प्रष्ट पारेका छन् । बिहीबारबाट पोखरामा सुरु भएको १२ औँ संस्करणको नेपाल लिटरेचर फेस्टिभलको उद्घाटन समारोहका प्रमुख अतिथि रहेका उनले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यो विषयमा प्रष्ट पारेका हुन् । उनले कार्यक्रमको ब्यानरमा लेखिएको शब्दप्रति आपत्ति जनाए । ‘यहाँ एउटा शब्द देखेको छु मैले पोखरा टुरिजम क्यापिटल अफ नेपाल भनेको छ । आजसम्म नेपाल सरकारले निर्णय गरेको छैन यो’ उनले भने ‘हल्लै हल्लाको देश हो यो, भूपी शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छेमा पढेकै हो ।’
आधिकारिक निर्णय सरकारको क्याबिनेटले गर्नुपर्नेमा आजसम्म त्यस्तो निर्णय नभएको खुलाए । ‘सरकारको क्याबिनेटले गर्नुपर्यो नी? आधिकारिक निर्णय गर्न त्यसकारण त्यो काममा फेरि लाग्नुछ हामी ।’
आधिकारिक निर्णय नभएपनि मान्न त सबैले मानिएको उनले बताए । ‘जे होस् हामी सबैले मानेका छौँ’ उनले थपे । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री रहेका उनले ३९ महिना मुख्यमन्त्री बन्दा धेरै कुरा सिक्ने मौका पाएको समेत बताए । त्यतिबेला देश, प्रदेश, राजधानी मात्र नभई आफ्नो मानिस, समाज, कर्मचारी र सुरक्षा निकाय सहित संस्कार र शैली समेत चिन्न बुझ्न पाएको बताए ।
पहिला र अहिले नेपाल सरकारको मन्त्री हुँदा भने त्यति सिक्न नपाएको उनको भनाइ थियो । मुख्यमन्त्री हुँदा सिकेको कुराले प्रभावित भएको कारण पोखरासँग “इमोसनल अट्याचमेन्ट’ रहेको बताए । जसको कारण पछिल्ला दिनमा पोखरामा धेरै आउजाउ भैरहेको सुनाए । उनले नेपाल लिटरेचर फेस्टिभल अरु फेस्टिभल भन्दा फरक रहेको समेत बताए ।
गत चैत ४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको थियो ।
