पोखरा ।  विनोद बानियाँको स्वर र सङ्गीत रहेको ठक्कर गीत सार्वजनिक भएको छ । गीतकार समेत रहेका चलचित्र निर्माता अविरल थापाले रचना गरेको यो गीतको म्युजिक भिडियोमा अभिनेता राजबल्लभ कोइरालालाई लगायतलाई देख्न सकिन्छ । आगामी बैशाख १२ मा प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘भूठान’का निर्माता थापाले यो गीत युट्युब च्यानल अवेकनप्रोडक्सनबाट सार्वजनिक गरेका छन् ।

सानो संसार चलचित्रका निर्देशक सिद्धार्थ पुडासैनीले निर्देशन गरेको भिडियो समेत आकर्षक बनेको छ । केही समय अगाडि एक्टर टेक वन चलचित्रको प्रदर्शन हुने समयमा  राजवल्लभ नेपाल आएको मौका छोपी म्युजिक भिडियोको छायाँकङ्न गरिएको बताइएको छ । गायक बानियाँ, गीतकार थापा र अभिनेता कोइराला पुराना साथी हुन् ।

समाजमा बढ्दै गएको चरम निराशा, अवसाद, विग्रह, हत्या र आत्महत्यालाई केही हदसम्म भएपनि निरुत्साहन गर्नका लागि गीतसङ्गीतको माध्यमद्वारा आशा र हिम्मतको सञ्चार गराई मानसिक स्वास्थ्य कायम राख्न सो गीत लेखेको र निर्माण गरेको थापाले बताएका छन् ।

थापाका यस अघि चलचित्र साँघुरोको लागि आउँदैछु कि जाँदैछु, शिशिर योगीको स्वरमा रहेको आफ्नै देशमा बस साथी, प्रमोद खरेलको स्वरमा यो झरीमा तिमीसँगै, युनिटी ब्यान्डको आशा अझै मरेको छैन लगायत अन्य गीतहरू बजारमा आएका थिए । उनी बहुचर्चित चलचित्र बुलबुलका निर्माता पनि हुन । साथै उनी शैक्षिक क्षेत्रमा समेत आवद्ध छन् ।

यता २०५७ सालमा माया देखायौ कति सजिलै’ बोलको गीत रेकर्ड गरी औपचारिकरूपमा साँगीतिक यात्रा प्रारम्भ गरेका गायक बानियाँ पोखरामा रहेर निरन्तर रुपमा साँगीतिक क्षेत्रमा क्रियाशील छन् । 

नेपाली चलचित्र क्षेत्रमा बेग्लै पहिचान बनाएका अभिनेता कोइराला भने हाल अमेरिकामा बस्छन् । उनले भर्खरै ‘औरा’ कविता संग्रह बजारमा ल्याएका समेत छन् । तीनजना साथीको पुर्नमिलन भएकोमा उत्साहित उनीहरू यो उत्प्रेरणामुलक गीतले दर्शक श्रोताको मन जित्नेमा विश्वस्त समेत छन् ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0