पोखरा । प्यासिफिक एसिया ट्राभल एसोसिएसन नेपाल च्याप्टरको आयोजनामा पोखरामा सोमबार देखि नेपाल, भारत, चाइना एक्सपो २०२५ सुरु भएको छ । पोखरा भ्रमण वर्ष २०२५ को अवसर पारेर पोखराको बुलौदीमा रहेको पोखरा इभेन्ट सेन्टरमा सञ्चालन भइरहेको एक्स्पो बुधबार सम्म चल्ने एसोसिएसनका कार्यकारी सदस्य एवं कार्यक्रम संयोजक सुनिल बहादुर भट्टराईले बताए । ‘नाईस फर माईस एण्ड मोर’ भन्ने नाराका साथ एक्स्पो आयोजना गरिएको हो । पोखरा माईस डेस्टिनेसनको अधिक सम्भावना भएको ठाउँ भएकोले यसले नयाँ आयाम सिर्जना गर्ने विश्वासका साथ कार्यक्रम गरिएको उनको भनाइ छ । विदेशी टुर अपरेटर सामु आफ्नो बिजनेस सोकेस गर्ने मौकाको रुपमा यो रहेको छ ।
एक्सपोमा नेपाल सहित भारत र चाइनाबाट त्रेताहरू, बिक्रेताहरू, सञ्चारकर्मी र विज्ञ वक्ताहरू लगायत पर्यटनसँग सम्बद्ध सरोकारवालाहरू सहित ५ सय जना कार्यक्रममा सहभागि हुने भएको आयोजकले जनाएको छ । भारतबाट करिब ४० टुर अपरेटर र चिनबाट करिब ५० टुर अपरेटरको सहभागिता हुने भएको छ भने बाँकी नेपालीहरूको सहभागिता हुने भएको संयोजक भट्टराईले बताए । दुई दिन मङ्गलबार र बुधबार भने बी टु बी कार्यक्रम हुने भएको संयोजक भट्टराईले जनाए ।
यस कार्यक्रमले पोखरालाई पदयात्रा र साहसिक पर्यटनको केन्द्रको रुपमा मात्र नभई बैठक, सभा सम्मेलन, प्रोत्साहन, विवाह तथा अन्य उत्सव, महोत्सव, समारोह, मेला र प्रदर्शनीहरूको लागि आकर्षक गन्तव्यको रुपमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद र अन्य प्रमुख पर्यटन सङ्घसंस्था र सरकारी एवं निजी क्षेत्रका विभिन्न साझेदार संस्थाहरूको सहकार्यमा कार्यक्रम भएको हो । कार्यक्रमले पोखरा भ्रमण वर्ष २०२५ लाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
