पोखरा । पोखरामा आयोजित दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी २०८१ बिहीबार सकिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजना तथा सिर्जनशील कलाकार समुह सँगको सहकार्यमा आयोजित प्रदर्शनीको गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्टको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरेर समापन गरियो । प्रदर्शनी अपेक्षाकृत सफल रहेको आयोजकको दावी छ । प्रदर्शनीको अवलोकन गर्नका लागि विभिन्न विद्यालयबाट ठूलो संख्यामा विद्यार्थी सहभागी बनेकोले उनीहरूलाई कला क्षेत्रमा अगाडि बढ्नका लागि उत्साह थप्ने आयोजकव विश्वास छ ।
पोखरा आर्ट ग्यालरी नयाँ बजारमा आइतबारबाट सुरु भएको पाँच दिने प्रदर्शनीमा ८० भन्दा बढि कला प्रदर्शनमा राखिएको थियो । प्रदर्शनीको समापन गर्दै गण्डकी प्रदेशका प्रमुख सचिव विष्टले हजार शब्दले वर्णन गर्न नसकेको विषयलाई एउटा चित्रले प्रष्ट पार्ने भएकाले ललितकलामा पनि चित्रको भूमिका महत्वपूर्ण हुने बताए । ललितकला साहित्यमा साधना र धैर्यताको बढि आवश्यकता पर्ने भएकाले यस क्षेत्रमा कलाकारहरू कम हुने उनको भनाई थियो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले यो वर्ष देशका सातैवटा प्रदेशमा ललितकला प्रदर्शनी गर्न लागेको र त्यसको सुरुवात गण्डकी प्रदेशबाट भएको बताए । उनका अनुसार गण्डकीमा सुरु भएको यो प्रदर्शनी कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, कोशी, मधेस हुँदै अन्त्यमा बागमती प्रदेशमा गर्ने तयारी छ ।
कार्यक्रममा बोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले सिर्जनशील कलाकार समुहलाई ललितकला प्रदर्शनी कार्यलाई निरन्तरता दिन आग्रह गरे । हरेक महिना फरकफरक कलाकारको कलालाई प्रदर्शनीमा राख्न सके ती कलाकारहरूको कला उजागर हुनुका साथै नयाँ कलाकारलाई प्रोत्साहन मिल्ने उनको भनाइ थियो ।
कार्यक्रमका संयोजक समेत रहेकी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका वास्तुकला र अन्य सृजनात्मक कला विभागका विभागीय प्रमुख सौरगङ्गा दर्शनधारीले कुनैपनि ललितकला प्रदर्शनी आफैमा सानो नहुने बताइन् । कलाकारहरूले पनि प्रदेश स्तरीय, राष्ट्रिय स्तर र अन्तराष्ट्रिय स्तरको भनेर प्रदर्शनहरूलाई ठूलो वा सानो रुपमा लिन नहुने उनको आग्रह थियो ।
प्रदर्शनीमा सहभागी बनेका कलालाई पुरस्कृत समेत गरिनेछ । सबै विधाबाट उत्कृष्ट हुने एकजनालाई ५० हजार रुपैयाँ, चित्रकला तर्फ परम्परागत चित्रकला र समसामयिक चित्रकला, मूर्तिकलातर्फ परम्परागत लोक मूर्तिकला र समसामयिक आधुनिक मूर्तिकला, शिल्पकला–हस्तकला, विद्यार्थी ललितकला प्रादेशिक पुरस्कार गरेर एक–एक जनालाई तथा लोककला, वास्तुकला तथा अन्य सिर्जनात्मक कला तर्फ दुई जनालाई पुरस्कृत गरिनेछ । सबै विधातर्फका विजेताले ३० हजार रुपैयाँ नगद हात पार्नेछन् ।
प्रदर्शनी मार्फत छानिएका चित्र काठमाडौंमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी हुनेछन् । राष्ट्रिय ललितकला प्रदर्शनीमा सर्वोत्कृष्ट बन्नेलाई १ लाख नगद र विधागत उत्कृष्ट बन्नेलाई ६० हजार रुपैयाँ नगद पुरस्कार रहेको छ । राष्ट्रिय ललितकला प्रदर्शनीमा सातै प्रदेशबाट छानिएका ललितकलाका बीचमा प्रतिष्पर्धा हुनेछ । सबै पुरस्कार काठमाडौंमा आयोजित कार्यक्रममा नै प्रदान गरिनेछ ।
पोखरामा भएको प्रदर्शनीमा प्रवर्द्धक बनेर काठमाडौँ ट्राइनल्स र नेपाल पर्यटन बोर्डले साथ दिएका थिए । प्रादेशिक ललितकला प्रदर्शनीलाई सम्पन्न गर्न सहयोग गर्ने सबैलाई आयोजकले आभार व्यक्त गरेका छन् । समापन समारोहमा कार्यक्रम सञ्चालन गण्डकीका प्राज्ञ कृष्ण प्रसाद पौडेलले गरेका थिए । प्रदर्शनीमा सहभागी कलाकारलाई प्रमुख अतिथि विष्टले सहभागिताको प्रमाणपत्र हस्तान्तरण गरे ।
