पोखरा । कास्कीको रूपा गाउँपालिकाले चार दिने कार्यक्रमको आयोजना गरेर स्थापना दिवस मनाउने भएको छ । यहीं फागुन २४ देखि २७ गतेसम्म विविध कार्यक्रमका साथ स्थापना दिवस मनाउन लागिएको रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिए । जसको लागि तयारी तीव्र पारिएको उनले बताए । कार्यक्रमलाई भव्य बनाउन गाउँपालिका उपप्रमुख लालसुब्बा गुरुङको संयोजकत्वमा मूल आयोजक समिति निर्माण गरिएको छ ।

दिवसका अवसरमा जैविक विविधता सम्बन्धी कृषि प्रदर्शनीमा रूपामा उत्पादन भएको महको चाका खाने कार्यक्रम, स्थानीय स्तरका बाख्रा र रैथाने बाली प्रदर्शनीसमेत हुनेछ । गाउँपालिका अध्यक्ष ओझाले रूपाका किसान मौरीपालन तर्फ आकर्षित बन्न थालेको बताए । त्यसको लागि गाउँपालिकाले सघाउने गरेको छ । यो वर्ष विगतको तुलनामा ५ गुणा बढी मह उत्पादन भएको दावी उनले गरे । त्यसरी उत्पादन भएको मह घरबाटनै बिक्री हुने गरेको छ । वार्षिक रुपमा महबाट ५ लाख देखि १५ लाखसम्म आम्दानी गर्ने गरेको उनले खुलाए । हाल रूपा गाउँपालिकामा वार्षिक ३५ हजार लिटर मह उत्पादन हुने गरेको उनको भनाइ छ ।

 फागुन २४ गते स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्‌घाटन गरिनेछ भने  २७ गते मुख्य समारोह सहित समापन हुनेछ । स्थापना दिवसको अवसरमा २०७५ सालदेखि निरन्तर गर्दै आएको अध्यक्ष कप भलिबललाई यस वर्ष पनि निरन्तरता दिइएको छ । यसपालि हुने वडास्तरीय पुरुष भलिबलमा रूपा गाउँपालिका बाहेकका अन्य खेलाडी सहभागी हुन पाउने छैनन् । प्रतियोगितामा प्रथम हुनेले ७७ हजार ७ सय ७७, द्वितीय हुनेले ५५ हजार ५ सय ५५, तृतीय हुनेले ३३ हजार ३ सय ३३ नगद सहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्नेछन् । वेस्ट प्लेयर, वेस्ट सेटर र वेस्ट स्पाइकर समेतले नगद सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा भाग लिन चाहनले फागुन २३ गतेसम्म टीम दर्ता गर्नुपर्नेछ ।

गाउँपालिकाभित्र बसोबास गर्ने विभिन्न जातजाति र समुदायहरूको भाषा, धर्म, संस्कृति संरक्षण र संवर्द्धन गर्न झाँकी प्रदर्शन प्रतियोगिता हुने भएको छ । जसको लागि हरेक वडाबाट कम्तीमा ३ वटाका दरले झाँकी प्रदर्शन गरिनेछ । प्रत्येक झाँकी समुहमा कम्तीमा ३५ जना हुनुपर्नेछ यसमा ५ जना ३० वर्ष भन्दा कम उमेरको हुनुपर्नेछ । झाँकी प्रदर्शनतर्फ प्रथम हुनेलाई ३० हजार, द्वितीय हुनेलाई २० हजार, तृतीय हुनेलाई १० हजार र सान्त्वना हुनेलाई ५ हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिनेछ । रैथाने बाली संरक्षण गर्नेलाई समेत पुरस्कृत गर्ने अध्यक्ष ओझाले बताए ।

स्थापना दिवसको अवसरमा हुने माला प्रतियोगितातर्फ प्रथम हुनेलाई ६ हजार, द्वितीय हुनेलाई ४ हजार र तृतीय हुनेलाई २ हजार सहित प्रमाणपत्र प्रदान गरिनेछ । रूपा गाउँपालिकाले पालिकाको विकास र समृद्धिमा सहयोग पुर्‍याउने सामाजिक व्यक्तित्व, विद्यावारिधि, एमडी, गरेका विभिन्न व्यक्तिलाई रूपा रत्नबाट सम्मान गर्दै आएकोमा यस वर्ष पनि निरन्तरता दिइएको उनको भनाइ छ । कार्यक्रमलाई व्यवस्थित बनाउन गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङको संयोजकत्वमा मूलसमिति र अन्य विभिन्न चार वटा समिति गठन गरेर तयारी सुरु गरिएको अध्यक्ष ओझाले बताए ।

पूर्वाधारको विकासको साथ साथै कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर दीर्घकालीन स्वरोजगारका योजना तथा कार्यक्रम रुपाले गर्दै आएको छ । किसानलाई प्रोत्साहन गर्न कृषि पेशामा उत्कृष्ट रहेका किसानहरूलाई नगद सहित सम्मान  गरिनेछ । स्थापना दिवसको कार्यक्रमको थप आर्कषणको रुपमा राष्ट्रिय तथा स्थानीय स्तरका ख्यातिप्राप्त कलाकारको सांस्कृतिक प्रस्तुती समेत रहनेछ ।

रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा उपाध्यक्ष लालसुब्बा गुरुङ, प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी बराल र सूचना अधिकारी लोकनाथ पौडेल लगायतले स्थापना दिवसको अवसरमा हुने कार्यक्रमको बारेमा बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0