पोखरा । पोखरामा आइतबारबाट सुरु भएको दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी २०८१ मा अवलोकनकर्ताको सङ्ख्या बढ्दै गएको छ ।  नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजना तथा सिर्जनशील कलाकार समुह सँगको सहकार्यमा आइतबारबाट सुरु भएको प्रदर्शनीमा अवलोकनकर्ताको सङ्ख्या बढ्दै गएको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । प्रदर्शनीमा नयाँ पुस्ता तथा विद्यार्थीको आकर्षण बढी देखिएको उनले बताए । फागुन ८ गतेसम्म पोखरा आर्ट ग्यालरी नयाँ बजारमा चल्ने प्रदर्शनीमा ८० भन्दा बढि कला प्रदर्शनमा राखिएको छ ।

अवलोकनकर्ताले प्रदर्शनी अवधिभर हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म प्रदर्शनीमा राखिएका चित्रको अवलोकन गर्न पाउनेछन् । देशका सुप्रसिद्ध कलाकारको सहभागितामा कार्यक्रम भइरहेकोले नयाँ तथा पुराना कलाकारको जमघट समेत त्यहाँ भइरहेको छ । प्रदर्शनीमा रहेका कलालाई पुरस्कृत समेत गरिनेछ ।

सबै विधाबाट उत्कृष्ट हुने एकजनालाई ५० हजार रुपैयाँ, चित्रकला तर्फ परम्परागत चित्रकला र समसामयिक चित्रकला, मूर्तिकलातर्फ परम्परागत लोक मूर्तिकला र समसामयिक आधुनिक मूर्तिकला, शिल्पकला–हस्तकला, विद्यार्थी ललितकला प्रादेशिक पुरस्कार गरेर एक–एक जनालाई तथा लोककला, वास्तुकला तथा अन्य सिर्जनात्मक कला तर्फ दुई जनालाई पुरस्कृत गरिनेछ । सबै विधातर्फका विजेताले ३० हजार रुपैयाँ नगद हात पार्नेछन् ।

प्रदर्शनी मार्फत छानिएका चित्र काठमाडौंमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी हुनेछन् ।राष्ट्रिय ललितकला प्रदर्शनीमा सर्वोत्कृष्ट बन्नेलाई १ लाख नगद र विधागत उत्कृष्ट बन्नेलाई ६० हजार रुपैयाँ नगद पुरस्कार रहेको छ । राष्ट्रिय ललितकला प्रदर्शनीमा सातै प्रदेशबाट छानिएका ललितकलाका बीचमा प्रतिष्पर्धा हुनेछ । प्रदर्शनीमा प्रवर्द्धक बनेर काठमाडौँ ट्राइनल्स र नेपाल पर्यटन बोर्डले साथ दिएका छन् । 

गण्डकी प्रदेशका ११ वटै जिल्लाका कलाकारका चित्र प्रदर्शनमा राखिएको आयोजकको भनाइ छ । सिर्जनशील कलाकार समुहका अध्यक्ष डिबी गुरुङले यस्तो प्रदर्शनीको आयोजनाले गण्डकी प्रदेशमा रहेका कलाकारलाई सङ्गठित रुपमा अगाडि बढाउदै पहिचान दिलाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0