पोखरा । लमजुङको पर्यटकीय गाउँ पसगाउँमा फागुन १८ र १९ गते १५ औं पसगाउँ महोत्सव हुने भएको छ । पसगाउँ सामूहिक होमस्टेको आयोजनामा क्व्होलासोथार गाउँपालिका वडा नम्बर ६, पसगाउँमा फागुन १८ र १९ गते उक्त महोत्सव हुन लागेको हो । पसगाउँलाई देश विदेशमा थप चिनाउन, स्थानीय भेषभुषा, कला संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यबहादुर गुरुङले जानकारी दिए ।

पोखरामा पत्रकार सम्मेलन गर्दै आयोजकले पसगाउँको प्रचारप्रसारदेखि आर्थिक, सामाजिक, स्थानीय उत्पादनको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । ग्रामीण पर्यटनको विस्तार गर्ने हेतुले २०६० सालदेखि हुँदै आएको महोत्सवलाई यस वर्षपनि निरन्तरता दिइन लागेको उनको भनाइ छ ।

पसगाउँमा घर छाउने ढुङ्गा खानीदेखि गुरुङ सङ्ग्रहालय, सारङ्गी नाच, झ्याउरे नाचका अलावा पाँचऔले, सतुवा, गुर्जो, कुरिलो, तामा जस्ता वस्तुहरू देख्न पाइनेछ । पसगाउँ सामूहिक होमस्टेका अध्यक्ष समेत रहेका गुरुङले त्यहाँ २१ घरमा होमस्टेको व्यवस्था रहेको र १ सय ५० पाहुनालाई सेवा दिन सकिने जानकारी दिए ।

महोत्सवको तयारीमा तीव्रता दिइएको आयोजकको भनाइ छ  । पसगाउँ पछिल्लो क्रममा पर्यटनको नयाँ गन्तव्य बनेको अध्यक्ष गुरुङको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0