पोखरा । जुत्ता व्यवसायी सङ्घ कास्कीले आफ्ना सदस्यहरूलाई १ लाख सम्मको दुर्घटना बीमा गरेको छ । सङ्घले आफ्ना १२७ जना सदस्यहरूलाई दुर्घटना बीमा गराएको हो । सङ्घले नेपाल माइक्रो इन्स्योरेन्ससँग दुर्घटना बीमा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।
कुल बिमाङ्क रकम १ करोड २७ लाख रुपैयाँ रहेको छ । सम्झौता अनुसार सङ्घका हरेक सदस्यको प्रतिव्यक्ति १ लाखका दरले दुर्घटना बीमा भएको छ । सङ्घका अध्यक्ष हेमकृष्ण श्रेष्ठले सङ्घका सदस्यहरूलाई विभिन्न खालका दुर्घटनाको जोखिम हुने भएकाले त्यस्तो जोखिम बहन गर्न आफ्ना सदस्यहरूको बीमा गराइएको बताए । आफ्ना सदस्यहरू कदम कदाचित कुनै खालको दुर्घटनामा परिहालेको खण्डमा त्यसको बहन गर्न बीमा कम्पनीसँगको सहकार्यमा प्रति सदस्य १ लाखका दरले सबै सदस्यहरूको बीमा गरिएकोले यो सङ्घको लागि ऐतिहासिक र गौरवको काम भएको अध्यक्ष श्रेष्ठले बताए ।
सङ्घले आफ्ना सदस्यहरूको क्षमता अभिवृद्धिका साथै स्वास्थ्य जोखिममा समेत सचेत रहेको अध्यक्ष श्रेष्ठको भनाई छ । सङ्घका उपाध्यक्ष लिलाम्बर सुवेदीको संयोजकत्वमा दुर्घटना बीमा सम्बन्धी सम्झौता गरिएको हो ।
