पोखरा । पोखरामा आइतबारबाट दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी २०८१ सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गरे ।
सिर्जनशील कलाकार समुह सँगको सहकार्यमा आयोजित प्रदर्शनी फागुन ८ गतेसम्म पोखरा आर्ट ग्यालरी नयाँ बजारमा चल्नेछ । प्रदर्शनीमा ८० भन्दा बढि कला प्रदर्शनमा राखिएको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।
अवलोकनकर्ताले प्रदर्शनी अवधिभर हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म प्रदर्शनीमा राखिएका चित्रको अवलोकन गर्न पाउनेछन् । देशका सुप्रसिद्ध कलाकारको सहभागितामा कार्यक्रम सम्पन्न हुने भएकोले नयाँ तथा पुराना कलाकारको जमघट समेत त्यहाँ हुनेछ । सबै विधाबाट उत्कृष्ट हुने एकजनालाई ५० हजार रुपैयाँ, चित्रकला तर्फ परम्परागत चित्रकला र समसामयिक चित्रकला, मूर्तिकलातर्फ परम्परागत लोक मूर्तिकला र समसामयिक आधुनिक मूर्तिकला, शिल्पकला–हस्तकला, विद्यार्थी ललितकला प्रादेशिक पुरस्कार गरेर एक–एक जनालाई तथा लोककला, वास्तुकला तथा अन्य सिर्जनात्मक कला तर्फ दुई जनालाई पुरस्कृत गरिनेछ । सबै विधातर्फका विजेताले ३० हजार रुपैयाँ नगद हात पार्नेछन् ।
प्रदर्शनी मार्फत छानिएका चित्र काठमाडौंमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी हुनेछन् ।राष्ट्रिय ललितकला प्रदर्शनीमा सर्वोत्कृष्ट बन्नेलाई १ लाख नगद र विधागत उत्कृष्ट बन्नेलाई ६० हजार रुपैयाँ नगद पुरस्कार रहेको छ । राष्ट्रिय ललितकला प्रदर्शनीमा सातै प्रदेशबाट छानिएका ललितकलाका बीचमा प्रतिष्पर्धा हुनेछ । यस अगाडि गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले प्रदर्शनीको उद्घाटन गर्ने तय भएपनि व्यस्तताको कारण देखाउदै उद्घाटन समारोहमा उनी उपस्थित बनेनन् ।
कार्यक्रममा बोल्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली ललितकलाको क्षेत्रमा गण्डकी प्रदेशको अवस्था खस्कँदै गएको दावी गरे । उनले पुरानो साख जोगाउदै अब्बल रहिरहन सबैले मिहिनेत गरेर क्रियाशीलता बढाउनुपर्ने जोड दिए ।
कार्यक्रमका संयोजक समेत रहेकी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका वास्तुकला र अन्य सृजनात्मक कला विभागका विभागीय प्रमुख सौरगङ्गा दर्शनधारीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, सिर्जनशील कलाकार समुहका अध्यक्ष डिबी गुरुङ लगायतले बोलेका थिए । “सामाजिक रुपान्तरण:ललितकलाको अभियान” नाराका साथ प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीमा प्रवर्द्धक बनेर काठमाडौँ ट्राइनल्स र नेपाल पर्यटन बोर्डले साथ दिएका छन् ।
सोही कार्यक्रममा ललितकला क्षेत्रमा गरेको योगदानको कदर गर्दै वरिष्ठ कलाकारहरू यादव चन्द्र भुर्तेल, लोक प्रसाद गुरुङ, मिलन शेरचन, क्षेत्रलाल कायस्थ, विश्वेश्वर पराजुलीलाई सम्मान अर्पण गरियो। गण्डकी प्रदेशका ११ वटै जिल्लाका कलाकारका चित्र प्रदर्शनमा राखिएको आयोजकको भनाइ छ । त्यहाँ उपस्थित कलाकारले ललितकला सम्बन्धी अध्ययन पोखरा लगायतका ठाउँमा सहज रुपमा गर्न पाउने अवस्थाको सिर्जना भएमा यो क्षेत्रमा अगाडि बढ्न खोज्नेलाई सहज हुने बताए । पोखरामा गतवर्ष समेत प्रदर्शनीको आयोजना गरिएको थियो ।
