पोखरा । २४ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीले जितेको छ । पहिलो सहभागितामा नै उपाधि जितेको ब्ल्याक बुल्सले ११ औँ पटक फाइनलमा पुगेको र ६ पटक उपाधि जितिसकेको नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गरेको हो ।
पोखरा रङ्गशालामा शनिबार भएको फाइनल खेलमा ब्ल्याक बुल्सले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो । ब्ल्याक बुल्सका कुभोनचबेक ओलिनोभले ४०औं, असिलबेक ओरिफजोनोभले ५८औं तथा साभकातजोन सात्तोरोधले ६६औं मिनेटमा गोल गरे । पुलिसका शिशिर चौधरीले ७४औं मिनेटमा सान्त्वना गोल फर्काए । खेलमा ब्ल्याक बुल्सका कप्तान जाखोनगिर अख्मादोभ प्लेअर अफ दि म्याच घोषित भए ।
ब्ल्याक बुल्सले यसअघि क्वार्टरफाइनलमा भारतको थण्डरबोल्ट नर्थ युनाइटेडलाई ३–० र सेमिफाइनलमा थ्री स्टारलाई ४–० ले हराएको थियो । पहिलो सहभागितामै उपाधि जित्दै ब्ल्याक बुल्स आहारारा पोखरा गोल्डकप जित्ने दोस्रो विदेशी टोली बनेको छ । यसअघि २०६२ सालमा अफ्रिकन युनाइटेडले उपाधि जितेको थियो ।
विजेता ब्ल्याक बुल्सले १२ लाख १ हजार नगदसहित ट्रफी प्राप्त गर्दा उपविजेता नेपाल पुलिस क्लबले ६ लाख १ हजारमा चित्त बुझायो । प्रतियोगितामा इमर्जिङ प्लेयर अवार्ड नेपाल पुलिस क्लबका सञ्जीव लामा, सर्वाधिक गोलकर्ता प्रतियोगिताभर ३ गोल गरेका ब्ल्याक बुल्स एफसी साभकातजोन सात्तोरोभ बने । उनले एमभिपी अवार्ड समेत जित्दै टेलजी स्कुटर प्राप्त गरे ।
फेयर प्ले अवार्ड थण्डरबोल्ट नर्थ युनाइटेड, भारत, बेस्ट गोलकिपर ब्ल्याक बुल्सका जासुरबेक राजाबोभ,बेस्ट डिफेण्डर अलिजोन अलिजोनोभ, बेस्ट फरवार्ड अजिजबेक खुर्सोनबोएभ, बेस्ट कोच अब्दुलाअजिज निशोनबाएभ बने । बेस्ट मिडफिल्डर नेपाल पुलिस क्लबका राम वाजी बन्न सफल बने । बिजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायतले पुरस्कार प्रदान गरे ।
तस्बिर : उमेश पुन
