पोखरा । गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेष बहादुर पौडेलले पदबहाली पश्चात हालसम्म १ सय दिनमा सम्पादित गरेका कार्यक्रमहरूको विवरण सार्वजनिक गरेका छन् । मङ्गलबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले सम्पादित मुख्य(मुख्य कामहरूको बारेमा जानकारी गराएका छन् । उनले मन्त्रालय मार्फत गरिएका नीतिगत निर्णय र कार्यक्रमगत प्रगतिको बारेमा खुलाएका थिए ।

समग्रमा मन्त्रालयको हालसम्मको भौतिक प्रगति ४० प्रतिशत र वित्तिय प्रगति २७ दशमलव ३६ प्रतिशत रहेको उनले बताए । यो वर्षको लागि तय भएका लक्ष्य पुरा हुने अवस्थामा रहेको उनको दावी थियो । उनले वन्यजन्तुबाट भएको क्षतिको लागि हालसम्म १ करोड १० लाख राहत वितरण गरिएको खुलाए । हिजोसम्म वनलाई कसरी जोगाउने भन्ने चुनौती रहेको भएपनि अहिले वनलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती रहेको बताए । यो अवधिका विभिन्न कार्ययोजना स्वीकृत तथा ढलापडा रूख सम्बन्धी निर्णय समेत भएका छन् ।

मन्त्री पौडेलले वन्यजन्तु उद्धार तथा व्यवस्थापन केन्द्र सञ्चालन कार्यविधि २०८१ को अन्तिम मस्यौदा तयार गरेर सहमतिको लागि आर्थिक मामिला मन्त्रालयमा पठाइएको विषय आफ्नो सय दिने काममा उल्लेख गरेका छन् । पचभैयामा रहेको वन्यजन्तु उद्धार केन्द्रलाई व्यवस्थित बनाउने कार्य भइरहेको उनले खुलाएका छन् । सदर चिडियाखानाको मापदण्ड कायम हुने गरेर सबै क्षेत्रलाई समेट्ने गरेर पुनस् डिपिआर गर्ने काम अगाडि बढेको उनले खुलाए ।

यस्तै वन नियमावली २०८१ मा छुट भएका विषयलाई संसोधन गर्न स्वीकृतिको लागि मन्त्रिपरिषद्मा पठाइएको छ । वन संवर्द्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन निर्देशिकाको मस्यौदा तयारी तथा प्रादेशिक जलवायु परिवर्तन रणनीति तथा कार्ययोजनाको मस्यौदा तयार समेत मन्त्री पौडेलका एक सय दिन सम्पादित गरिएका काममा समावेश गरिएको छ । यो अवधिमा वन्यजन्तु संरक्षणतर्फ १ सय २४ जीवित वन्यजन्तुको उद्धार र २५ मृत वन्यजन्तुको व्यवस्थापन गरिएको छ । मन्त्री पौडेलले वन जङ्गलमा लाउने डढेलोका कारण हुने क्षतिलाई कम गर्न आवश्यक तयारी सुरु भैसकेको समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0