पोखरा । एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत मङ्गलबार लिग चरणका ४ खेल हुने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइराखेको प्रतियोगिताको चौथो दिन महिला र पुरुषतर्फ दुईदुई खेल हुने तालिका छ ।
पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा पहिलो खेल बिहान पौने ९ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिष्पर्धा गर्नेछन् । दोस्रो खेलमा महिलातर्फ टिपटप न्यु डायमन्ड स्पोर्ट्स क्लब र आयोजक टाइगर ग्रुपबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल पौने ११ बजे सुरु हुने तालिका छ ।
तेस्रो र चौथो खेल पुरुषतर्फको हुनेछ । पुरुषतर्फको पहिलो खेल गण्डकी प्रदेश र सशस्त्र प्रहरी बल एपीएफबीच पौने १ बजेबाट सुरु हुनेछ । पुरुषतर्फको दोस्रो खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ ।
सोमबार भएको खेलमा महिलातर्फ एपीएफ जित निकाल्दा पुलिसले दोहोरो जित निकालेका थिए । भने टिपटप हेल्प नेपाल र गण्डकी प्रदेशबीचको खेल स्थगित भएको थियो । हेल्प नेपाल २–१ सेटले अघि हुँदा खराब प्रकाशका कारण खेल स्थगित गरिएको हो ।
महिलातर्फ एपीएफले टिपटप न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । महिलातर्फ नै पुलिसले ट्राभल इन्क्वायरी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई ३–१ को सेटले हराएको थियो । पुरुषतर्फ पुलिसले भारतको सुनिल क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो ।
यस प्रतियोगिताको आयोजनाले पोखरामा भलिबलको रौनक छाएको छ । माघ १९ गतेसम्म चल्ने प्रतियोगिताका विजेता टोलीले समान ५ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् । उपविजेताले समान २ लाख ८५ हजार ५५५ र तृतीय हुने टोलीले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिताको खेल हेर्नका लागि इसेवामार्फत अनलाइन टिकट काट्न सकिने आयोजकले जनाएको छ ।
