पोखरा । एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ ट्राभल इन्क्वायरी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डले लगातार दोस्रो हार बेहोरेको छ । पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा भएको खेलमा ट्राभल इन्क्वायरी नेपाल पुलिस क्लबसँग ३–१ को सेटले पराजित भएको हो ।
पहिलो सेट २३–२५ ले गुमाएको पुलिसले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै पहिलो जित दर्ता गराएको हो । पुलिसले दोस्रो सेट २५–१४, तेस्रो र चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पार्यो । पहिलो खेलमा टिपटप न्यु डायमन्ड स्पोर्ट्स क्लबसँग पराजित भएको पुलिसले पहिलो जित निकालेको हो । ट्राभल इन्क्वायरीले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा सशस्त्र प्रहरी बल एपीएफसँग पराजित भएको थियो ।
आजै भएको पहिलो खेलमा सशस्त्र प्रहरी बल एपीएफले टिपटप न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।
