पोखरा । एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा शसस्त्र प्रहरी बल (एपीएफ) ले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई पराजित गरेको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा भएको पहिलो खेलमा एपीएफले ३–२ सेटले खेल आफ्नो पक्षमा पारेको हो । पहिला दुई सेट गुमाएको एपीएफले उत्कृष्ट पुनरागमन गर्दै ३–२ सेटको जित निकाल्न सफल भयो ।
पहिलो सेटमा १२–७ को एपीएफको अग्रतालाई उल्टाउँदै ट्राभल इन्क्वारीले आफ्नो पक्षमा पारेको थियो । इन्क्वारीले दोस्रो सेटमा २५–२० को सहज जित निकालेको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै एपीएफले जित निकाल्दा खेल पाँचौँ सेटमा धकेलिएको थियो । एपीएफले तेस्रो सेट २५–१९ र चौथो सेट २५–२० ले आफ्नो पक्षमा पार्यो । पाँचौ सेटमा उत्कृष्ट प्रदर्शन गर्दै डिफेन्डिङ च्याम्पियन एपीएफले १५–७ को जित निकाल्यो ।
आजबाट सुरु भएको पाँचौं संस्करणको टाइगर कप भलिबल १९ गतेसम्म चल्नेछ । प्रतियोगिताको पुरुषतर्फका खेल भने आइतबार हुनेछन् ।
