पोखरा । राष्ट्रिय सङ्गीतकमर्मी सङ्घ गण्डकी प्रदेशको आयोजनामा सङ्गीत र पर्यटन विषयक गोष्ठी सम्पन्न भएको छ ।

नेपालको पहिलो होम स्टे सिरुबारीमा शुक्रबार भएको उक्त गोष्ठीको उद्‌घाटन गर्दै प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले सङ्गीतबिना पर्यटन अधुरो हुने बताए । उनले भने, ‘हामीले जानेको ज्ञान, विद्या अरुलाई बाँड्नुपर्छ । संगीतमार्फत पर्यटनको विकासमा अघि बढ्नुपर्छ ।’ संविधानसभा सदस्य समेत रहेका उनले गाउँ विकासका लागि सधैँ दत्तचित्त रहेको बताउँदै बिदा हुनेबित्तिकै सिरुबारी आउने गरेको उल्लेख गरे ।

संस्कृतिविद् प्राडा कुसुमाकर न्यौपानेले सङ्गीतमा निकै ठूलो शक्ति रहेको बताए । सङ्गीत र पर्यटनबारे गोष्ठीपत्र प्रस्तुत गर्दै उनले मन र मस्तिष्क दुवैलाई धक्का दिन सक्ने सङ्गीतले मानवमात्र नभई पशुपक्षीलाई पनि मन्त्रमुग्ध बनाउने बताए । सङ्गीतको माध्यमबाट पर्यटन प्रवर्द्धनमा उल्लेख्य टेवा मिल्दै आएको उनको भनाइ थियो ।

रेडियो नेपाल प्रादेशिक केन्द्र पोखराका प्रमुख शान्ति गुरुङले सङ्गीत जति बुझ्यो त्यति गहिरो रहेको बताइन् । राष्ट्रिय सङ्गीतकर्मी सङ्घका केन्द्रीय महासचिव विनोद ढकालले हाल देशभर सङ्घका ६२ जिल्लामा शाखा सञ्चालित रहेको बताए ।

कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ, संस्कृतिकर्मी प्राडा कुसुमाकर न्यौपाने, सङ्घका महासचिव विनोद ढकाल, केन्द्रीय सदस्य शङ्कर ढकाल, सङ्घका स्याङ्जा प्रमुख सल्लाहकार मुक्तिप्रसाद रेग्मीलाई सम्मान गरिएको थियो ।

सो अवसरमा आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेल, गाउँपालिका सदस्य अमन सुनार, गुरुङ फिल्मका महानायक ताराबहादुर गुरुङ, आँधीखोला गाउँपालिका वडा १ का अध्यक्ष पवनकाजी अधिकारी, सङ्घका केन्द्रीय सदस्यद्वय शङ्कर ढकाल, ऋषिराम दाहाल, सङ्घका स्याङ्जा शाखाका प्रमुख सल्लाहकार मुक्तिप्रसाद रेग्मी, वाराही मावि पोखराका प्रअ शिवप्रसाद भण्डारी, सङ्घ गण्डकीका मानार्थ सदस्य प्रेमबहादुर रोका, संघका स्याङ्जा अध्यक्ष बुद्धिबहादुर परियार, सङ्घ गण्डकी प्रथम उपाध्यक्ष लीलाराम पौडेल, लायन्स क्लब अफ पोखरा सेन्ट्रल सिटीका सचिव इन्द्रप्रसाद ढकाल लगायतको उपस्थिति थियो ।

राष्ट्रिय सङ्गीतकर्मी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष रामचन्द्र ढकालले संस्थाका गतिविधिबारे प्रकाश पारे । अध्यक्ष ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका द्वितीय उपाध्यक्ष सागर कार्की र सञ्चालन महासचिव बालकृष्ण शर्माले गरेका थिए । कलाकारको हकहितमा काम गर्दै आएको संघको विदेशमा पनि शाखा बिस्तार छ । बेलायत, अमेरिका, जापान, दुवई, भारत लगायत राष्ट्र्रमा पनि शाखा बिस्तार गरेको सङ्घका महासचिव ढकालले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0