लेखनाथ । पुस १८ गतेदेखि कास्कीको लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सव भेटघाटको थलो बनेको छ । वर्षेनी आयोजना हुने महोत्सवमा विभिन्न जिल्लाबाट महोत्सव हेर्न आउने कारण आफन्त र साथीभाइको लामो अन्तरालमा भेट हुने गरेको छ । 

पोखरा–३२ निवासी भरत ओझाले भने कति “साथी यहाँ भेटेर अचम्म लाग्यो, १४ वर्षपछि मैले पुरानो साथी योगेन्द्र गुरुङलाई भेट्न पाएँ” यसरी अचम्म पर्नेमा ओझा मात्र होइन थुप्रै दर्शक थिए । पोखरा २७ का कृष्ण रानाभाटले ४८ सालमा भेटेका आफ्नो आत्मीय साथी कृष्ण ठकुरीले अहिले महोत्सवमै भेटे । अन्य दर्शकहरूसमेत स्कुल पढ्दाका साथी र टाढाका आफन्त भेटेर खुसी व्यक्त गरिरहेका थिए ।

नयाँपन खोज्नका लागि लेखनाथ महोत्सव आउने दर्शकले बालापनको साथी भेट्ने रहरसमेत राख्ने गर्छन् । पुरानो सम्बन्धमा रमाउन पाउँदा दर्शक निकै खुसी भएको लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले बताए । उनले भने, ’यो महोत्सव खाली महोत्सवका लागि मात्र नभएर आत्मीयता र भेटघाटको थलो पनि बनेको छ ।’
महोत्सवमा चर्चित दोहोरी कलाकारबाट दोहोरी प्रस्तुति, हास्यव्यङ्ग्य कलाकार बाट हास्य प्रस्तुति, पप कलाकारबाट पप कर्न्सट साथमा मोर्डन डान्समा दर्शकहरू रमाइलो लिएका छन् । 

शनिबार दोहोरीतर्फ बाल कलाकार सुप्रिम मल्ल ठकुरी, आशा बीसी, जीवन दाहाल, शिवहरी ढुँगाना, कृष्ण अखेली, रमा राना, माया केसी लगायतको प्रस्तुत रहनेछ भने बेलुका लाइभ कन्सर्टमा राजु लामा (मंगोलियन हर्ट)को प्रस्तुती रहने कलाकार व्यवस्थापन समितिका संयोजक उपेन्द्रराज सुवेदी (राजु) ले जानकारी दिए ।

महोत्सवमा शुक्रबार २७ हजार दर्शकले अवलोकन गरेका छन भने ७५ लाख बराबरको कारोबार भएको महोत्सवकी प्रचार प्रसार संयोजक जानुका पराजुलीले जानकारी दिइन । हालसम्म १ लाख ५० हजार दर्शकले अवलोकन र ४ करोड ५० लाखको कारोबार भएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने महोत्सवको सह–आयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश रहेका छन भने प्रवर्द्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0