पोखरा । पर्यटन राजधानी पोखरामा गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान विषयक प्यानल डिस्कसन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गण्डकी प्रदेशलाई दक्षिण एसियाकै प्रमुख पर्यटन गन्तव्यको रुपमा विकास गर्न सकिने बताए ।  ‘गण्डकीमा स्वास्थ्य पर्यटनको सम्भावना’ शीर्षकमा बोल्दै उनले गण्डकी प्रदेशमा स्वास्थ्य पर्यटनको विकासले स्थानीय रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन गर्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउने दाबी समेत गरे । 

नेपालमा आउने पर्यटक मध्ये ४५ प्रतिशत पर्यटकहरू गण्डकी प्रदेशमा आउने गरेको पछिल्लो तथ्याङ्कले देखाएको बताउँदै उनले पर्यटकीय क्षेत्रमा बढ्दो प्रदुषणले पर्यटन क्षेत्रलाई नकारात्मक प्रभाव पारेको औँल्याएका हुन् । गण्डकीमा हेल्थ पर्यटनको सम्भावना
गण्डकी प्रदेशमा हेल्थ टुरिजमको विभिन्न माध्यमबाट सुरु भइसकेको बताउँदै मन्त्री पाठकले यसलाई अझै सुदृढ बनाउन विभिन्न क्षेत्रमा काम गर्नुपर्ने जरुरी रहेको उनको भनाइ थियो ।

मन्त्री पाठकले गण्डकीमा स्पा, रिट्रिट, योग, ध्यान र प्राकृतिक उपचार केन्द्रहरूको स्थापना गरी पर्यटकहरूलाई अभिभुखिकरण गर्नुका साथै तालिम सञ्चालन गर्न सकिने बताए । प्रदेशको स्थानीय जडिबुटी र स्थानीय चिकित्सा सम्बन्धी ज्ञानलाई प्रबर्द्धन गर्दै विदेशी पर्यटकहरूलाई विशिष्टीकृत आयुर्वेद उपचारको अनुभव र तालिम दिन सकिने सम्भावना रहेको पनि उनले बताए । पोखरामा पदयात्रा, म्याराथन, पर्वत आरोहण गर्न पर्यटकहरूलाई चोट पटक लागेका उपचार र पुनस्थापना सेवा प्रदान गर्न सकिने पनि उनले खुलाएका छन् ।

पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले हाल गण्डकी प्रदेशको पर्यटन क्षेत्रको अवस्था र त्यसमा गर्नुपर्ने सुधारका बारेमा बोलेका थिए । उनले कोरला नाकालाई चलायमान बनाउनुपर्ने औँल्याए

पहिलो सत्रमा ‘पर्यटन र पोखरा विमानस्थल’ को विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका संयोजक रामेश्वर खनाल र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल बहस गरे । 

दोस्रो सत्रमा ‘गण्डकी, पर्यटन र राष्ट्रिय अर्थतन्त्र’ को सम्भावना विषयमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.मीन बहादुर श्रेष्ठ, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बहस तथा छलफल गरे ।

 कार्यक्रमको तेस्रो सत्रमा पोखरामा पर्यटनका थप सम्भावना’ बारे गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ र पर्यटन व्यवसायी पोम नारायण श्रेष्ठबीचमा छलफल भएको थियो ।

 कार्यक्रममा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ प्रमुख अतिथि रहेका थिए । सुनौलो नेपालका अध्यक्ष मोहराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सुमन ढुंगानाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0