पोखरा । २४ औं आहा रारा पोखरा गोल्डकपलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न एन्फा कास्की आबद्ध क्लबहरूले सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार सहारा क्लब पोखराले एन्फा कास्कीमा आबद्ध २२ क्लबलाई डाँकेर प्रतियोगिताको तयारीबारे छलफल गरेको थियो । एन्फा कास्कीका अध्यक्ष उज्ज्वल रञ्जितको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा उपस्थित २१ क्लबका प्रतिनिधिले आहारारा पोखरा गोल्डकप पोखराको चिनारी भएकाले आ–आफ्नो स्थानबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनीहरूले सेभेन ए साइड र फुटसलका कारण ११ ए साइड फुटबलका खासै प्रतियोगिता हुन नसकेको अवस्थामा आहा रारालाई भव्य रुपमा सफल पार्ने बताए । सहारा क्लबका पूर्व अध्यक्ष एवं प्रतियोगिताको सङ्घसंस्था समन्वय समिति संयोजक वीरभद्र आचार्यले सबै जनाको उत्साहपूर्ण उपस्थितिले अन्तरक्रिया निकै फलदायी भएको बताए ।
उनले भने, ‘उहाँहरु सबै जनाले यो प्रतियोगितालाई आफ्नै प्रतियोगिता ठानी सहयोगको प्रतिबद्धता जनाउनुभएको छ । हामीलाई लाग्छ, प्रतियोगिता आधा सफल भइसकेको छ ।’’
सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा क्लब सचिव एवं सङ्घसंस्था समन्वय समिति सचिव टङ्कप्रसाद पौडेलले सञ्चालन र धन्यवाद ज्ञापन वीरभद्र आचार्यले गरेका थिए ।
कार्यक्रममा एन्फा कास्कीका संस्थापक अध्यक्ष एवं क्लबका मानार्थ सदस्य महेश गुरुङ, विभिन्न क्लबका अध्यक्ष, पदाधिकारी, प्रतिनिधि, सहाराका पूर्व अध्यक्ष, सल्लाहकार तथा सदस्यहरूको सहभागिता थियो । क्लबले आगामी माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रङ्गशालामा आहारारा पोखरा गोल्डकप आयोजना गर्दैछ । प्रतियोगिताबाट बचत रकम सहाराले दोबिल्लामा सञ्चालन गरेको सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्चिंदै आएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले बताए ।
![](https://kotkhabar.com/wp-content/uploads/2024/08/IMG_0305-1.gif)