पोखरा । पोखरामा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता २०२४ सुरु भएको छ । गण्डकी प्रदेश, पोखरा महानगरपालिका, नेपाल स्थित चिनिँया राजदूतावास र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र ओभरसिज चाइनिज एसोसिएसन पोखराको सह आयोजनामा आयोजित प्रतियोगिताको उद्घाटन नेपाल सरकारका मन्त्री तेजुलाल चौधरीले गरेका हुन्।
प्रतियोगितामा नेपालका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने ११ समूह, मित्र राष्ट्र चिन स्थित विभिन्न प्रान्तबाट प्रतिनिधित्व गर्ने ८ समूह र मित्र राष्ट्र सिङ्गापुरबाट प्रतिनिधित्व गर्ने १ समूह गरी कुल २० समूहहरूको सहभागिता रहेको छ । प्रतियोगितामा आइतबार २०० मि र ५०० मिटर तर्फ पहिलो चरणका खेलहरू सम्पन्न भएका छन् ।
प्रतियोगितामा सोमबार सेमिफाइनल र फाइनल चरणका खेलहरू हुनेछन् । प्रतियोगिताको विजेताले अमेरिकी डलर ५ हजार, दोस्रो हुनेले २ हजार र तेस्रो हुनेले १ हजार २ सय डलर पुरस्कार पाउनेछन् । सहभागी अन्य टिमहरूलाई प्रोत्साहन स्वरूप ५ सय डलर प्रदान गरिनेछ ।