पोखरा । पोखरामा ‘विकासका आयाम र नेपाली समाजको रूपान्तरण’ विषयमा छलफल कार्यक्रम आयोजना भएको छ । पृथ्वीनारायण क्याम्पस भूगोल विभागको आयोजनामा भएको कार्यक्रममा अवधारणापत्र प्रस्तुती  र त्यस माथि छलफल गरिएको हो । त्रिभुवन विश्वविद्यालयका प्रा.डा. कृष्ण प्रसाद पौडेल,  पृथ्वीनारायण क्याम्पसका  सह प्राध्यापक डा.शान्ता कुमारी खत्री र सह प्राध्यापक नरेश पौडेलले तयार पारेको अवधारणापत्रलाई प्रा.डा. पौडेलले प्रस्तुत गरेका थिए ।

प्रा.डा. कृष्ण केसी, प्रा.डा. विश्व श्रेष्ठ, प्रा.डा. ज्ञान बहादुर कार्की,  गण्डकी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष डा. श्रीकान्त खतिवडा, पोखरा महानगरपालिका शहरी योजना आयोगका सदस्य सुरेन्द्र तिवारी, पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुखहरू, विभागीय प्रमुखहरू, पूर्व प्राध्यापकहरू, कार्यरत प्राध्यापकहरू, स्नातकोत्तर तहका विद्यार्थीहरू र  पत्रकारको सहभागितामा अवधारणापत्र प्रस्तुत गरिएको हो ।

सह प्राध्यापक तथा अनुसन्धानकर्ता डा.शान्ता खत्रीले ग्रामीण क्षेत्रबाट किन पलायन भएका छन् र गएको ठाउँमा  समेत उनीहरूको अवस्था राम्रो छ त? भन्ने विषयलाई समेत ध्यान दिएर अवधारणापत्र तयार गरेको बताइन् । सबैको सुझाबले अवधारणापत्रलाई परिपक्क बनाउन सघाउने उनको विश्वास थियो ।

प्रस्तुत गरिएको अवधारणापत्रमा घनिभूत ढङ्गमै छलफल समेत गरियो । छलफलमा सहभागीले नेपालको विकासको ढाँचा, शहरी तथा ग्रामीण क्षेत्रमा पूर्वाधारको स्थिति, ग्रामीण क्षेत्रबाट शहर तर्फको बसाइसराइ र यसका प्रभावहरू, विकास योजनामा भएका त्रुटिहरू, भविष्यमा चुनौति, समस्या समाधानका उपायहरू आदि विषयमा अवधारणापत्रमा आएका विषयसँगै आफ्नो तर्फबाट महत्वपूर्ण सुझाब समेत दिएका थिए ।  

अवधारणापत्र माथि छलफलमा सहभागी हुनेमा सह प्रा. कमल ढकाल, प्रा.डा. विश्व श्रेष्ठ, प्रा.डा. ज्ञान बहादुर कार्की, सहायक प्रा. लक्ष्मण शर्मा, सह प्रा. कालिदास शर्मा, सह प्रा. भिमनाथ बराल, पोखरा शहरी योजना आयोग सदस्य सुरेन्द्र तिवारी, उप प्रा. विजय अर्याल, उप प्रा. कल्पना ढुङ्गाना, विद्यार्थी मोहन पौडेल, पिएचडी स्कलर खगेन्द्र पौडेल, सहायक प्रा. नारायणी सिग्देल, गण्डकी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष डा. श्रीकान्त खतिवडा, सह प्रा. कवीराज सुवेदी लगायत रहेका थिए ।

कार्यक्रमको अन्त्यमा भूगोलविद् प्रा.डा. कृष्ण केसीले प्रस्तुती तथा छलफलमा आएका विषयवस्तु समेटी समापन टिप्पणी प्रस्तुत गरेका थिए । उनले अवधारणापत्र मार्फत उठान गरिएको विषय पेचिलो भएको बताए । मुलुकको समसामयिक अवस्था बारेमा सबैले सोचेको विषय उठान भएको कारण सबैलाई छुने उनको भनाइ थियो ।

आवश्यकता अनुसारको विकास हुनुपर्नेमा त्यसो हुन नसक्दा समस्या आएको प्रा.डा. केसीको दावी थियो । केन्द्र देखि स्थानीय तहसम्मका सरकारले विशिष्ट समुहको सुझाब नसुन्दा यस्तो अवस्था आएको उनले बताए ।

सह प्राध्यापक तथा अनुसन्धानकर्ता नरेश पौडेलले सबैको सुझाब मार्फत अनुसन्धानलाई प्रभावकारी बनाउन छलफल कार्यक्रम गरिएको बताए । यस्ता कार्यक्रम निरन्तर आयोजना गर्ने उनको प्रतिवद्धता थियो ।

पृथ्वीनारायण क्याम्पसका  सह प्राध्यापक उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सह प्राध्यापक डा रामजी पोखरेलले सहजिकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0