पोखरा । तेह्रौं संस्करणको पोखरा महोत्सवको तयारीमा तीब्रता पारिएको छ । महोत्सव यहीं पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुनेछ ।  महोत्सव आयोजक युनाइटेड क्लब पोखराले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर दिएको जानकारी अनुसार शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवर्द्धनको क्षेत्रमा काम गर्दै आइरहेको युनाइटेड क्लबले महोत्सवबाट युनाइटेड छात्रावास निर्माणको लागि अगाडि बढ्ने भएको छ । युनाइटेड क्लबले पोखरा २७ अर्चलेमा रहेको आफ्नै जग्गामा गरिब तथा आर्थिक विपन्न परिवारका बालबालिकालाई लक्षित गरी युनाइटेड छात्रावास निर्माणका लागि हालै शिलान्यास कार्यक्रम सम्पन्न भइसकेको र डिपिआर अनुरूप निर्माण कार्य अगाडि बढेको महोत्सव प्रचार प्रसार संयोजक तथा युनाइटेड क्लबका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । सुनारका अनुसार उक्त छात्रावासलाई क्लबले निकट भविष्यमा विद्यालयको रुपमा सञ्चालन गर्ने लक्ष्य रहेको छ ।

शिक्षा सँगै स्वास्थ्य, खेलकुद र पर्यटनको क्षेत्रलाई समेत निरन्तरता भने रहने उनले बताए । १३ औं संस्करण सम्म आइपुग्दा युनाइटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी शिक्षा क्षेत्रमा पोखरा र आसपासका रहेका विभिन्न सामुदायिक विद्यालयहरूमा छात्रवृत्ति अक्षयकोष स्थापना गरी शैक्षिक सामाग्रीहरू वितरण गरिसकेको छ । त्यसैगरी स्वास्थ्य क्षेत्रमा विभिन्न ग्रामीण बस्तीमा लक्षित गरी निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको र खेलकुदको क्षेत्रमा क्लब आफैले खेलकुद प्रतियोगिता आयोजना गर्दै विभिन्न खेलकुद प्रतियोगितामा प्रायोजन, सहयोगी संस्था, प्रर्वद्धक एवं सहभागिता जनाउदै आइरहेको प्रचार प्रसार संयोजक  सुनारले जानकारी दिए ।

पर्यटन प्रवर्द्धन तर्फ पोखरामा खुला चिडियाखानाको अवधारणा लिई पोखरा महानगरपालिकाको पचभैया क्षेत्रमा पर्ने सामुदायिक वनहरूलाई समेटेर चिडियाखाना निर्माणको पहल गरेको र हाल उक्त काम गण्डकी प्रदेश सरकारको प्रदेश गौरवको आयोजनामा समावेश भइ काम भइरहेको क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले बताए । युनाइटेड क्लबका निवर्तमान अध्यक्ष तथा महोत्सवका कार्यसम्पादन उप समिति संयोजक राजु श्रेष्ठले पोखरा महोत्सवको आयोजना गरी सेती नदी संरक्षणमा समेत काम गर्ने उद्देश्यले अगाडि बढिरहेको र त्यसका लागि पोखरा महानगरसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । क्लबका प्रथम उपाध्यक्ष शान्त बहादुर थापाले युनाइटेड क्लब र अमरसिंह माविको सहकार्यमा पोखरा महोत्सव १३ औं संस्करण सम्म आइपुगेको बताए ।

 महोत्सव बाहेक युनाइटेड क्लबले नेपालीहरूको दोश्रो ठूलो पर्व तिहारको अवसरमा देउसी भैलो कार्यक्रमको आयोजना गरी त्यसबाट बचत भएको रकमबाट विपद व्यवस्थापन कोष स्थापना गरी विपदका घटनाबाट प्रभावितहरूलाई सहयोग गर्दै आएको क्वलले जनाएको छ ।  महोत्सवकै माध्यामबाट सेती नदी खोचलाई शाहसिक पर्यटकीय गन्तब्य स्थल बनाउन समेत सम्बन्धित निकाय समक्ष पहलकदमी गर्दै आइरहेको छ ।

१२ दिन सम्म सञ्चालन हुने महोत्सवमा २५०  स्टल रहने र महोत्सवको सम्पूर्ण स्टलहरु पूर्ण रुपमा  बुकिङ भइसकेको महोत्सव प्रचार प्रसार संयोजक सुनारले बताए । महोत्सवमा २ लाख ५० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अनुमान आयोजकले जनाएको छ । त्यसैगरी महोत्सबबाट १ करोड ५१ लाख ७५ हजार आम्दानी र १ करोड १७ लाख ५० हजार खर्च भइ २८ लाख १५ हजार बचत गर्ने लक्ष्य आयोजकले राखेको छ ।

पोखरा महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पुर्‍याउनेु, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पुर्‍याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सवै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पुर्‍याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत बिकासमा टेवा पुर्‍याउने र उद्योगको प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ ।

महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवसायीक संघ संस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती, विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता सँगै कृषिका गतिविधीहरु सञ्चालन हुनेछन ।

महोत्सवको आकर्षणमा लोकदोहोरी तर्फ बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, ज्योती मगर, प्रकाश दुतराज, रचना रिमाल, शान्ति श्री परियार, श्याम राना, अस्मिता अधिकारी, राजु परियार, सम्झना लामिछाने मगर,  शान्तिरानी परियार, जीवन दाहाल, चोलेन्द्र पौडेल लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहने छभने लाईभ कन्सर्ट तर्फ भीटेन, लाहुरे, उर्गेन, फिरन्ते, रकहेड्स, पूर्ण राई एण्ड दाजुभाई, जेमसी सँगै स्थानिय ब्याण्डहरुको प्रस्तुती रहने क्लवका वरिष्ठ उपाध्यक्ष तथा कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । त्यसैगरी हांस्य ब्यङ्ग्य  तर्फ म्याकुरी, दीपक थापा, पोखरेली धुर्मुस र माग्ने बुढाको प्रस्तुती, नेपाली संस्कृति झल्कने प्रस्तुती,  बाल उद्यान, विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता, झांकी प्रदर्शनी लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन ।

  युनाइटेड क्लबका महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0