पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्की अन्तरगतको प्रादेशिक रक्त सञ्चार केन्द्र पोखरामा रक्तदानको लागि नयाँ अभियान सुरु गर्न लागिएको छ । केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले दिएको जानकारी अनुसार अब रक्तदाताले सिर्जनाचोकमा रहेको नेपाल रेडक्रस सोसाइटीको नयाँ भवनमा पुगेर रक्तदान गर्ने सक्नेछन् ।
यो अभियान सन् २०२५ को जनवरी १ तारेख देखि सुरु गरिने उनले जानकारी दिएका छन् । जन्मदिन, वैवाहिक वर्षगाँठ लगायतका विभिन्न सम्झनयोग्य दिनलाई सम्झेर रक्त सञ्चार केन्द्रमा पुगेरै रक्तदान गर्नको लागि विशेष अनुरोध गर्ने कार्य गर्न लागेको उनले खुलाए ।
यसरी रक्तदान कार्यक्रम गर्दा बिरामीको बढी हितमा हुने महसुस गरिएको छ । दैनिक रुपमा विभिन्न कम्पोनेन्टका कम्तिमा ३० पोका रगत आवश्यक पर्ने भएकोले त्यसलाई परिपूर्ति गर्न र रगतको कम्पोनेन्ट छुट्याउनका लागि समेत यो अभियान सफल हुने उनको विश्वास छ । रक्त सञ्चारमा गएर रगत दिँदा सबै कुरा जाँचेर रगत तान्ने परिपाटीको व्यवस्था हुने भएकोले रक्तदातालाई समेत फाइदा हुनेछ ।
बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म रक्तदान गर्न सकिने व्यवस्था गरिएको र केन्द्रमा अटोमेटिक मेसिनहरू भएको कारण समेत रक्तदान गर्न सहजता मात्र नभएर त्यसको उपयोगितामा वृद्धि हुने उनको दावी छ । एउटा व्यक्तिले दान गर्ने रगतबाट विभिन्न कम्पोनेन्ट छुट्याउन सकिने उनले खुलाए । पछिल्लो समयमा रक्तदान गर्नेको ट्रेन उत्साहजनक रहेको भन्दै वर्षमा ४ पटक रक्तदान गर्न सकिने भएकोले खेर जाने रगत दान गरेर अरुको जीवन बचाउन उनको आग्रह छ ।
अघिल्लो आर्थिक वर्षमा केन्द्र मार्फत २० हजार युनिट रगत संकलन गरिएको उनले जानकारी दिए । पछिल्लो समयमा रक्त्तदान गर्नेहरूको दायरा समेत बढाइएको प्रमुख ज्ञवालीले बताए ।