पोखरा । माछा मारेर जिविकोपार्जन गर्ने आफूहरूको रैथाने पेशा सङ्कटमा पर्न थालेको भन्दै पोखरा १८ खपौँदीका जलारी समुदायले चिन्ता व्यक्त गरेका छन् । सोमबार ट्रान्सपरेन्सी इनटरनेशनल  (टीआई) नेपालले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी कार्यमा सदाचार र सुशासनसम्बन्धी छलफलमा भाग लिँदै स्थानीय जलारी समुदायले ताल संरक्षण नहुँदा माछाको उत्पादनमा असर गरेको बताए । 

त्यहाँका १०१ घरधुरी मध्ये ९९ प्रतिशतले पुर्ख्यौली पेशाको रुपमा रहेको माछा मार्ने पेशालाई नै निरन्तरता दिइरहेका छन् । तर माछाको उत्पादनमा झण्डै ५० प्रतिशतसम्म गिरावट आएको उनीहरूले सुनाए । हर्पन फेवा मत्स्य सहकारी संस्था पोखरा १८ का अध्यक्षसमेत ज्ञानबहादुर जलारीले फेवाताल संरक्षण र रैथाने पेशालाई जोगाउने मुद्दालाई राज्यका निकायले एकसाथ अगाडि बढाउनुपर्ने बताउँछन् । अहिलेसम्म फेवातालका विषादीमुक्त माछा खान पाइने गरिएपनि रातारात तालको रङ फेरिने तथा पानी धमिलो हुँदा रैथाने माछा लोपोन्मुख अवस्थामा पुगेको सुनाए ।

फेवाताल आसपासका खोला बढेर तालमा मिसिँदा माछा बगेर जाने समस्या भएकोले त्यसलाई रोक्न तार, जाली आवश्यक भएको उनले खुलाए । छोराछोरीलाई पेशामा निरन्तरता दिने पक्षमा रहेको र समुदायका स्नातक तहसम्मको अध्ययन गरेको व्यक्तिले माछा मार्ने पेशा अङ्गालेको उनी बताउँछन् । अहिलेको प्रतिस्पर्धाको जमानमा व्यापार, व्यवसाय गर्ने क्षमता समुदायको नभएको उनको टिप्पणी छ ।जाल र तालमा समुदाय निर्भर भएको उल्लेख गर्दै उनले ताल संरक्षण भए जलारी समुदाय खुसी हुने सुनाए । ताल संरक्षणका लागि जनस्तरमा सचेतनामूलक कार्यक्रम आवश्यक भएकोमा जोड दिँदै उनी राज्यका निकायलाई दोष लगाएर उम्कने ठाउँ नभएको औंल्याउँछन् ।

जलारी आमा समूहकी अध्यक्ष मीना जलारीले जीवन निर्वाहको मूल पेशा ताल र माछा भएकाले ताल रहे जलारी समुदायको पेशा जोगिने सुनाइन । परम्परागत तवरले माछा मार्दा जीविकोपार्जन गर्न कठिनाइ भएको जानकारी दिँदै उनी वैज्ञानिक तरिकाले माछापालन गरी उत्पादनको व्यवस्था गर्न माग गरिन् । मीनाले माछापालनका लागि उपयुक्त सीप, तालिम र शिक्षाको व्यवस्था गर्नुका साथै उत्पादन भएका माछा बजारीकरणका लागि सहजीकरण गर्न आग्रह गरिन् । 

टिआई नेपालका वरिष्ठ कार्यक्रम अधिकृत बबिता शर्माले संस्थाले १ वर्षअघि गरेको सर्वेक्षणमा कतिपय रैथाने माछा लोप हुने अवस्थामा पाइएको जानकारी दिइन् । उनले प्राकृतिक विपत्ति न्यूनीकरण कार्य, तालमा बाँध बाँध्ने, जलकुम्भी झार सफा गर्न सम्बन्धित निकायले पहल गर्न आवश्यक भएको बताइन् । त्यस्तो गर्न सकेमा ताल संरक्षण हुनुका साथै माछापालनमा सघाउ पुग्ने उनले उल्लेख गरिन् । उनले जलारी समुदाय प्रत्यक्ष रुपमा जलवायु परिवर्तन तथा मानव सिर्जित विपद्बाट प्रभावित भइरहेको उल्लेख गरिन् ।

अर्को विकल्प नभएका कारण सो पेशालाई निरन्तरता दिनु समुदायका लागि बाध्यता भएको उनको भनाइ छ । सीमान्तकृत समुदायको पेशा संरक्षण र प्रवद्र्धन गर्नु राज्यका निकायको दायित्व भएको दाबी गर्दै उनले जलवायु परिवर्तन तथा विकास निर्माणका कारण पहिरो जाने र आसपासका खोलाको कारण फेवाताल पुरिँदै गएको देखिएको जनाइन् । उनले राज्यका निकायले समय समयमा समुदायको पेशागत हित तथा जनकेन्द्रित योजना निर्माण तथा कार्यान्वयनका लागि बेला बेलामा अध्ययन, अनुसन्धान गर्न आवश्यक भएकोमा उनको जोड थियो। 

पोखरा महानगरपालिका वडा नं. १८ का अध्यक्ष शिवप्रसाद तिमिल्सिनाले आगामी वर्षको योजना बनाउँदा जलारी समुदायका सवाललाई समेट्ने बताए । माछालाई बग्नबाट रोक्न तार, जालीको व्यवस्था गरिने जानकारी दिँदै उनले ताल संरक्षण पोखरा महानगर र सबै पोखरेलीको साझा सरोकारको विषय भएको दाबी गरे । उनले तालको बिचको माटोको थुप्रोलाई निकाल्न पहल गरेको जानकारी दिए । 

 सुशासनका लागि नागरिक समाज (सुनास) कास्की कार्यवहाक अध्यक्ष शान्ति गुरुङ, सुनासका कार्यक्रम अधिकृत भानु पराजुली, स्थानीय जलारी समुदायका कृतिमान जलारी, सुब्बा जलारी, विमला जलारी, रामचन्द्र जलारी र दीपा जलारीले जलवायु परिवर्तनका कारण समुदायलाई परेको असर र राज्यले चाल्नुपर्ने कदमको बारेमा बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0