पोखरा । पोखरा महानगरपालिका वडानम्बर १५ ढुङ्गेसाँघु, पट्नेरीमा जारी गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटीहोम–२०८१ मा सोमबार नि:शुल्क व्रतबन्ध गरिएको छ । ११ जनाको व्रतबन्ध सम्पन्न भएको यज्ञ आयोजक मूल समितिका अध्यक्ष एवं अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष मदन गिरीले जानकारी दिए । कोटिहोममा मङ्गलबार चौरासी पुजा र तुला दानको कार्यक्रम तय भएको गिरीले बताए । 

‘कोटिहोम सञ्चालनको अवधिमा व्रतबन्ध, चौरासी पुजा गर्न चाहेमा निशुल्क रुपमा पुजा गर्न सकिन्छ, कर्ताले स्वेच्छिक दान गर्न चाहेको अवस्थामा दान स्वीकार गरिने छ’ गिरीले भने । कोटीहोमको सातौँ दिन ठुलो सङ्ख्यामा भक्तजनको उपस्थिति रहेको थियो । आयोजकको तर्फबाट भक्तजनको लागि निशुल्क भोजनको व्यवस्थापन गरिएको यज्ञ आयोजक मुल समितिका संयोजक नारायण भण्डारीले जानकारी दिए ।

 यज्ञका प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) ले पर्यटकीय धार्मिक क्षेत्र बनाउने उद्देश्य सहित कोटिहोम आयोजना गरिएकोले सबै पोखरेलीको साथ र सहयोगको अपेक्षा गरिएको बताए । यस स्थानमा विगतमा पनि साधुसन्त महन्त सिद्धपुरुषहरूले कोटीहोम लगाएको र अहिले करिब ३१ वर्षपछि धाम निर्माण गर्ने उद्देश्यका साथ कोटीहोम आयोजना गरिएको हो । अबको पाँच वर्षमा धाम विश्वको आकर्षक गन्तव्य बन्ने संकल्पकर्ता ढकालले जानकारी दिए । 

कोटिहोम जारी रहँदा धाममा शिवालय मन्दिरको उद्घाटन गरिएको छ भने, शवदहन स्थल (सेती नदी) जाने बाटो (सिँढी)को शिलान्यास र शिव मन्दिर प्रवेश गर्ने मूलद्वारको शिलान्यास गरिएको छ । यस्तै महतगौँडाटुटुङ्गालाई जोड्ने प्राचीन प्राकृतिक पुल ढुङ्गेसाँघुको तल हरिहर भगवानले तपस्या गरेको गुफा जानका लागि पट्नेरीबाट सिँढीसहितको बाटोको चन्दा दाताको हातबाट शिलान्यास गरिएको छ । यस्तै सोही स्थानमा प्रेम मन्दिरको पनि शिलान्यास गरिएको अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिका सचिव कमला बरालले जानकारी दिइन । मंसिर २७ गतेसम्म कोटिहोम सञ्चालन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0