पोखरा । पोखरा महानगरपालिका वडानम्बर १५ ढुङ्गेसाँघु, पट्नेरीमा शुक्रबार प्रेम मन्दिरको शिलान्यास गरिएको छ । यही मंसिर १७ गतेदेखि जारी ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ अन्तर्गत सोही स्थानमा प्रेम मन्दिरको शिलान्यास गरिएको हो । प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) ले मन्दिरको शिलान्यास गरेका हुन् ।
दुइ वर्ष भित्र मन्दिर निर्माण गरिने यज्ञ संकल्पकर्ता ढकालले जानकारी दिए । यस्तै शुक्रबारनै सोही स्थानमा रहेको नवदीप धाममा जाने बाटो (सिँढी)को पनि शिलान्यास गरिएको छ । महतगौँडा र टुटुङ्गालाई जोड्ने प्राचीन प्राकृतिक पुल ढुङ्गेसाँघुको तल हरिहर भगवानले तपस्या गरेको गुफा रहेको छ । सोही गुफामा जानका लागि पट्नेरीबाट सिँढी सहितको बाटो निर्माण गर्न लागिएको यज्ञ आयोजक समितिका संयोजक नारायण भण्डारीले जानकारी दिए ।
दान दाता मायादेवी न्यौपाने (महामाया दासी)ले बाटोको शिलान्यास गरेकी हुन् । न्यौपाने परिवारले कोटीहोमको लागि ५१ हजार दान गरेका छन् । भने बाटो निर्माणका लागि थप सहयोग गर्ने प्रतिवद्धता समेत गरेको आयोजकले जनाएको छ । कोटिहोममा स्थलको दक्षिण तर्फ रहेको सेती नदिमा आजै कोटी दीप प्रज्वलन गरिएको छ । ठुलो सङ्ख्यामा उपस्थित भएका भक्तजनको सहभागितामा सेती नदिकोबीचमा साढे दुई करोड दीप प्रज्वलन गरिएको अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष मदन गिरीले जानकारी दिए ।
यस स्थानमा विगतमा पनि साधुसन्त महन्त सिद्धपुरुषहरूले कोटीहोम लगाएको र अहिले करिब ३१ वर्षपछि धाम निर्माण गर्ने उद्देश्यका साथ कोटीहोम आयोजना गरिएको हो । प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) ले धार्मिक पर्यटकीय केन्द्र बनाउन सबै पोखरेलीको साथ र सहयोगको आवश्यक रहेको बताउँदै यज्ञ स्थलमा आएर हौसला बढाइदिन आग्रह गरेका छन् ।
प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज परेकाले कोटिहोममा पनि विवाह पञ्चमी विशेष कथा वाचन र झाँकी प्रदर्शन गरिएको थियो । मंसिर २७ गतेसम्म कोटिहोम सञ्चालन हुने छ । प्रेम मन्दिर, नवदीप धाम पुग्ने बाटो साथै धाममा १०८ शिवलिङ्ग, १०८ गौमुखी धारा, सेती नदीसम्म स्थानका लागि पुग्न १०८ सिँढी, जेष्ठनागरिक मिलन केन्द्र स्थापना गर्ने उद्देश्यका साथ कोटिहोमको आयोजना गरिएको समितिका उपाध्यक्ष राजकुमार बरालले जानकारी दिए ।