पोखरा । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले नेपाल सरकारले दिएको शिक्षा प्रति विश्वास जगाउनुपर्ने बताएकी छन् । पोखराको राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव समापन समारोहमा बोल्दै उनले नेपालको शिक्षा बदल्नको लागि धेरै काम गर्नुपर्ने भएपनि सबैभन्दा पहिला नेपाल सरकारले दिएको शिक्षा प्रति विश्वास जगाउनुपर्ने बताएकी हुन् । त्यो विश्वास जगाउने काम सामुदायिक तथा सार्वजनिक विद्यालयको भएको उनको भनाइ थियो । उनले आफूले साना कामबाट परिवर्तन गर्ने अभिलाषाका साथ काम गरिरहेको खुलाएकी छन् ।
शिक्षा क्षेत्रमा सुधार गर्नका लागि आफूले काम गर्दै गरेको उनको भनाइ थियो । भर्खरै मात्र शिक्षा मन्त्रालयले अनिर्वाय तथा निशुल्क शिक्षा ऐनको कार्यान्वयन गर्नुपर्छ भनेर कार्यान्वयन योजना बनाएको उनले बताइन् । अनिर्वाय निशुल्क शिक्षा ऐन कार्यान्वयन गर्ने हो भने नेपाल सरकारले २० प्रतिशत बजेट शिक्षामा लगानी गर्नुपर्ने उनले सुनाइन् । शिक्षा नि:शुल्क दिन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुपर्ने भन्दै त्यसको सुरुवात रजिष्ट्रेशनको शुल्क नलिइ विद्यार्थीको रजिष्ट्रेशन गराएर थालनी गर्नुपर्ने बताइन् ।
विभिन्न सुविधा दिँदा समेत सार्वजनिक विद्यालयमा विद्यार्थीको उपस्थिति घटेको भन्दै यसलाई परिवर्तन गर्न सोच बदल्नु जरुरी भएकोमा उनको जोड छ। जबसम्म स्थानीय तहले अनुगमन गर्न सक्दैन तबसम्म विद्यालय सुदृढ बन्न सक्दैनन् भन्ने मनसायका साथ अनिवार्य तथा निशुल्क शिक्षा ऐनले सबै स्थानीय तहसँग शिक्षा योजना हुनुपर्छ शिक्षा कोष हुनुपर्छ भन्ने प्रावधान राखेको उनले जानकारी दिइन् ।
यदि अनिवार्य तथा निशुल्क शिक्षा ऐनलाई कार्यान्वयन गर्ने हो भने सबै स्थानीय तहमा शिक्षा कोष अनिवार्य निर्माण गर्नुपर्ने मन्त्री भट्टराईले बताइन् । नेपालको शिक्षा प्रतिस्पर्धी रहेको दावी उनले गरिन् । प्रतिस्पर्धी भएकै कारण विद्यार्थीहरू नेपालमा मात्र नभएर विश्व दुनियाँमा प्रतिष्पर्धा गर्न गइरहेको बताइन् । देशमा बस्नको लागि देश, परिवार, समाज र समुदायलाई चिनाउन जरुरी भएको र त्यो काम पाठ्यक्रमबाट सुरु गर्नुपर्ने उनको जोड छ। एसइइ र कक्षा १२ को परीक्षाफल सन्तोषजनक नभएको भन्दै अब विद्यार्थी र शिक्षकले आफूलाई स्वमुल्याङ्कन गर्ने विधि अपनाउनुपर्ने बताइन् ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य दामोदर बैरागी, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापा, प्रदेश सभा सदस्य गणेशमान गुरुङ, राजकुमारी भुजेल लगायतले बोलेका थिए ।