पोखरा । वडा प्रहरी कार्यालय बैदाम, पोखराले १० करोड ६० लाखको लागतमा  नयाँ भवन निर्माण गरेको छ । नवनिर्मित भवनको उद्‌घाटन प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बिहीबार एक कार्यक्रमबाबीच गरे । कार्यक्रममा बोल्दै उनले पर्यटकमैत्री व्यवहार र उच्च व्यावसायिकता मार्फत पोखराको पर्यटन प्रवर्द्धनमा योगदान दिन प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

प्रहरी महानिरीक्षक  कुँवरले काठमाडौँमा रात्रिकालीन व्यवसायलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउन समयको पाबन्दी हटाइएको जनाउँदै काठमाडौँको असल अभ्यासलाई पोखराले र पोखराको असल अभ्यासलाई देशका अन्य स्थानका प्रहरीले आत्मसात गर्नुपर्नेमा जोड दिएका छन् । उनले उच्च मनोबलसहित प्रहरी सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने समेत बताए ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै कास्की प्रहरीमा थप जिम्मेवारी थपिएको बताउँदै महानिरीक्षक कुँवरले पर्यटकको सुरक्षामा पनि त्यतिकै ध्यान दिन कास्की प्रहरीलाई आग्रह गरे ।

कार्यक्रममा पोखरा महानगरपालिकाका पूर्वमेयर मानबहादुर जिसीले पोखरा सुहाउँदो र नागरिकको घर सुहाउँदो प्रहरी कार्यलय बनेको बताउँदै भवनजस्तै प्रहरीले प्रदान गर्ने सेवा सुविधा पनि व्यवस्थित र मर्यादित हुनुपर्ने बताए । साथै उनले प्रहरी मेरो साथी भनिरहँदा पोखरामा प्रहरीलाई नै नटेर्ने अवस्था सिर्जना हुन नदिन आग्रह गरे ।

भवन उद्‍घाटन कार्यक्रममा प्राविधिक प्रहरी नायब उपरीक्षक इन्जिनियर ध्रुव अधिकारीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनअनुसार भौतिक पूर्वाधार निर्देशनालयको १० करोड ६० लाखको लागतमा उक्त भवन निर्माण गरिएको हो । ४ वर्षको अवधिमा दुई चरण गरी सुविधा सम्पन्न प्रशासनिक कार्यालय, ब्यारेक भवन, हिरासत कक्ष र भान्छा घर निर्माण गरिएको हो । उक्त भवन वडा प्रहरी कार्यलय बैदामको ५ रोपनी १२ आना जग्गामा १ हजार ९०५ वर्गफिट क्षेत्रफलमा निर्माण गरिएको हो ।

उद्‌घाटन समारोहको अवसरमा भवन निर्माण कार्यमा सहयोग गर्ने, जग्गा प्राप्त गर्न सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले स्वागत गरेका थिए । कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, नेपाली काङ्ग्रेस जिल्ला सभापति किसोरदत्त बराल लगायतले बोलेका थिए । भवनको शिलान्यास २०७६ साल माघ ५ गते भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0