पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ ढुङ्गेसाँघु, पटनेरीमा जारी कोटीहोमको दोस्रो दिन मङ्गलबारबाट कथा प्रवचन सुरु भएको छ । गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ मा यज्ञको दोस्रो दिन प्रमुख बाचक शोभाकान्त ढकाल(कृपालु दास), दिग्दर्शक बाचक शिरोमणि दीपक सापकोटा, भागवत मञ्जरी पूज्य राधाकिशोरी दासीले कथा बाचन गरेका थिए । कोटिहोममा स्थानीय श्रद्धालु भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको यज्ञ मूल समारोह समितिका संयोजक नारायण भण्डारीले जानकारी दिए ।
कोटीहोमको सोमबार गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गरेका थिए । प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) ले धार्मिक पर्यटकीय केन्द्र बनाउन संकल्पलाई पुरा गर्न कोटीहोमको आयोजना गरिएको हो । अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिले कोटिहोमको आयोजना गरेको हो । मंसिर २७ गतेसम्म कोटिहोम सञ्चालन हुने छ ।
कोटिहोममा सहभागि हुन आयोजकले पोखरेललाई आग्रह गरेको छ । ढुङ्गेसाँघु बसपार्कसम्म आएका भक्तजनलाई यज्ञ स्थलमा लैजानको लागि आयोजकले गाडीको व्यवस्था गर्ने जनाएको छ । कोटिहोममा १५ भन्दा बढि बाचकलाई निम्ता गरिएको आयोजकले जनाएको छ । धाममा १०८ शिवलिङ्ग, १०८ गौमुखी धारा, सेती नदीसम्म स्थानका लागि पुग्न १०८ सिँढी, जेष्ठनागरिक मिलन केन्द्र स्थापना गर्ने उद्देश्यका साथ कोटीहोमको आयोजना गरिएको समितिका उपाध्यक्ष राजकुमार बरालले जानकारी दिए ।