पोखरा। पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले उर्जाको बचत गर्नु भनेको नाफा कमाउनु सरह नै रहेको बताएका छन् । उनले आफ्नो उद्योग/प्रतिष्ठानमा कति उर्जा खपत भएको छ तथा कतै चुहावट भएको छ कि भन्नेबारेमा ध्यान दिन पनि आग्रह गरे । यसका अलावा नवीकरणीय उर्जाको प्रयोगतर्फ पनि उद्योगी/व्यवसायीहरुले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
नवीकरणीय उर्जा तथा उर्जा दक्षता प्रवर्द्धनका निम्ति जर्मन सहयोगी संस्था जीआइजेड तथा युरोपियन युनियनको सहयोगमा नेपाल राष्ट्रिय वाणिज्य बैङ्कले प्रदान गर्ने अनुदान कार्यक्रमबारे जानकारी दिन शुक्रबार पोखरा उद्योग वाणिज्य सङ्घमा आयोजित कार्यक्रममा उनले सो धारणा राखेका हुन् । पोखरा उद्योग वाणिज्य सङ्घले नै सहजीकरण गरेको कार्यक्रममा बोल्दै उनले नेपालमा उद्योग तथा व्यवसायमा ऊर्जा दक्षताको प्रवर्द्धनका निम्ति सञ्चालित कार्यक्रम लक्षित वर्गसम्म पुर्नुपर्नेमा पनि जोड दिए । उद्योग तथा व्यवसायहरूमा ऊर्जाको दक्ष उपयोगबाट ऊर्जा खपतमा कमी ल्याइ देशमा दिगो औद्योगिक विकासलाई बढावा दिने र कार्बन उत्सर्जन घटाउने लक्ष्यसहित नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
कार्यक्रममार्फत दिइने सुविधा तथा अनुदान प्राप्त गर्न पूरा गर्नुपर्ने शर्तबारे जानकारी दिँदै जीआइजेडका रिलिप–ग्रीन परियोजना व्यवस्थापक इन्जिनियर सञ्जयप्रसाद गोर्खालीले परियोजना विशुद्ध रूपले उद्योगी/व्यवसायीकै हितमा रहेको बताए ।
बैङ्कबाट प्रदान गरिने अनुदान लिने प्रक्रियाबारे जानकारी दिँदै राष्ट्रिय वाणिज्य बैङ्कका हरित उर्जा सल्लाहकार एवं विशेषज्ञ राजीवमंगल जोशीले ऊर्जा परीक्षकबाट सिफारिस भएका दक्षताका उपायहरू कार्यान्वयनमा प्रोत्साहन दिन बैंकमार्फत् आंशिक अनुदान उपलब्ध गरिने जानकारी दिए । अनुदान प्राप्त गर्नका लागि वातावरणीय मापदण्डदेखि कर्मचारी व्यवस्थापन सम्मका केही सर्तहरू पूरा गर्नुनपर्ने उनको भनाइ थियो । उनका अनुसार यो परियोजनाअन्तर्गत उर्जाको बचत गर्ने पूर्वाधार तयार पार्दा ठूला उद्योगले लागतको २०,मझौलाले २५ र सानाले ३५ प्रतिशतसम्म अनुदान पाउने प्रष्ट पारे ।
रिलिप–ग्रीनका सल्लाहकार सुदन कायस्थका अनुसार विभिन्न १८ वटा सर्त पूरा गर्ने कम्पनीले मात्र यस्तो अनुदानको लागि आवेदन दिन सक्नेछन् । राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक होमराज भट्टराईले पोखराकै केही उद्योगहरूले उर्जाको बचतका निम्ति अनुदान लिएको जानकारी गराउँदै राष्ट्रिय वाणिज्य बैङ्कबाहेक अन्य बैङ्कसँग कारोबार गरेकाले पनि यो सुविधा लिन सक्ने बताए ।
पोखरा उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष पवनकुमार प्रजापतिको स्वागत तथा महासचिव शोभा गौतमको संचालन रहेको कार्यक्रममा सहभागीहरुले आंशिक अनुदान लिने प्रक्रियासहित नीतिगत व्यवस्थाबारे जिज्ञासा राखेका थिए । जर्मन सरकारको आर्थिक सहयोग तथा विकास मन्त्रालय (बीएमजेड) तथा युरोपियन युनियनसहितको संलग्नतामा ऊर्जा, जलस्रोत र सिंचाइ मन्त्रालयद्वारा सञ्चालित यस कार्यक्रममा जर्मन विकास सहयोग–जीआइजेडले प्राविधिक सहयोग गरेको छ ।