पोखरा । पोखरा ७ मासवारस्थित मदरल्याण्ड माविले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) र कक्षा १२ को परीक्षामा उत्कृष्ट अङ्क ल्याएका विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । माध्यमिक शिक्षा परीक्षामा ४ जिपिए ल्याउने १० जना विद्यार्थी र राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षामा नेपाल ‘टप’ गरेकी १ छात्रालाई सम्मान गरिएको हो ।
यस वर्षको एसइइमा नेपालभरबाट १ सइ ८६ जनाले मात्र ४ जिपिए ल्याएका थिए । ती मध्ये १० जना मदरल्याण्ड माविका विद्यार्थी थिए । तिनै विद्यार्थीलाई जनही ५० हजार रुपैयाँ र राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा नेपाल प्रथम बनेकी छात्रा सदीक्षा क्षेत्रीलाई नगद २ लाख रुपैयाँसहित सम्मान गरिएको विद्यालयका प्राचार्य डा नारायण बरालले बताए ।
सदीक्षाले ३।९६ जिपिए अंक ल्याएर नेपाल टप गरेकी थिइन् । ४ जिपिए ल्याउनेमा कृपा बराल, रेडियस पोख्रेल, कनक अधिकारी, अपेक्षा ढुङ्गाना, आशिष बस्ताकोटी, कृपा गुरुङ, इक्विटी पौडेल, अबिस वाग्ले, युनिका ढकाल र समीक्षा पहारी थिए ।
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, प्राचार्य डा नारायण बराल, राष्ट्रिय परीक्षा बोर्ड गण्डकीका प्रमुख गोविन्द पोखरेल, गण्डकी विश्वविद्यालयका डिन डा कपिल अधिकारी, पोखरा ७ का अध्यक्ष राममोहन आचार्य लगायतले उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रम मार्फत सम्मान अर्पण गरे ।
यसका अलावा राष्ट्रिय परीक्षा बोर्डको परीक्षापछि स्नातक तहमा विभिन्न विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई पनि सम्मान गरियो । नेपाल विज्ञान शिक्षक संघमार्फत गतवर्षको एसइइमा विज्ञान विषयमा उत्कृष्ट रिजल्ट ल्याउन सफल विद्यालयका विज्ञान शिक्षकलाई समेत सम्मान गरिएको थियो । कक्षा ८ को परीक्षाका उत्कृष्ट विद्यार्थीलाई समेत सोही कार्यक्रममा सम्मानित भए ।
कार्यक्रममा बोल्दै मन्त्री थापाले गण्डकी प्रदेशको सम्पत्तिको रुपमा रहेको मदरल्याण्ड विद्यालयले गरेको सफलता देखेर निकै खुशी लागेको बताए । एउटा विद्यार्थीले परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल हुनमा अभिभावक र शिक्षकहरूको पनि उत्तिकै हात हुने उनको भनाइ थियो । प्रदेश सरकारले शिक्षा क्षेत्रमा सुधार गर्नका लागि शिक्षा नीतिमा केही परिवर्तन गर्न लागेको समेत जानकारी दिए । उनले विद्यार्थी अभावमा कतिपय सरकारी विद्यालय बन्द हुने अवस्था रहेको बताउँदै विद्यालयलाई उद्यमसँगै शिक्षासँग जोड्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय परीक्षा बोर्ड गण्डकीका प्रमुख पोखरेलले सबैको सहयोग र सक्रियताले विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्ने बताए ।
विद्यालयले सम्मान कार्यक्रमका साथै गण्डकी प्रदेश स्तरीय विज्ञान हाजिरी जवाफ प्रतियोगिता समेत आयोजना गरेको छ । शनिबार र आइतबार सञ्चालन हुने उक्त प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुबाट विद्यार्थीहरुले सहभागिता जनाउने विद्यालयका प्राचार्य डा बरालले जानकारी दिए । सहभागी सबै विद्यार्थीहरुले मदरल्याण्ड माविलाई आफ्नै परिसर ठान्न र केही समस्या भएमा शिक्षकसँग मद्धत लिन आग्रह गरे ।
हाजिरी जवाफमा प्रथम र द्धितिय हुने विद्यार्थीलाई मदरल्याण्ड माविमा पढ्न इच्छा व्यक्त गरेमा पढ्नको लागि पूर्ण छात्रवृत्ति उपलब्ध गराउने प्रतिबद्धता डा बरालको थियो । एक पछि अर्को सफलता प्राप्त गर्दै मदरल्याण्डले शिक्षा क्षेत्रमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नै विशिष्ट परिचय बनाउन सफल भएको छ ।