पोखरा । गुरुङ फिल्म एशोसियसन हङकङ (जिफाह) को आयोजनामा ‘जिफाह साँझ-२’ भव्य रुपमा सम्पन्न भएको छ । “गुरुङ गीत, संगीत र चलचित्रको माध्यमबाट गुरुङ समुदायको कलासंस्कृतिलाई विश्वभरि प्रबर्द्धन गरौँ” भन्ने मूल उद्देश्य सहित कार्यक्रम गरिएको थियो । याउ मा तेई कम्युनिटी हल हङकङमा संस्थाका अध्यक्ष तथा कार्यक्रम संयोजक कुमारी गुरुङ ‘माया’ को अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा गुरुङ फिल्म एशोसियसन नेपाल (जिफान)का पूर्व अध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य बेद बहादुर गुरुङ ‘श्याम’ प्रमुख अतिथि थिए भने विशेष अतिथिमा गुरुङ फिल्म एशोसियसन नेपाल (जिफान) का अध्यक्ष राज बहादुर गुरुङ ‘राजेश’, जिफाहका संस्थापक अध्यक्ष रोशन गुरुङ, प्रमुख सल्लाहकार दिलिप सिङ्ग गुरुङ, तमु ट्हो ह्युल हङकङका अध्यक्ष ईश्वर गुरुङ, तमु प्ये ल्हु सङ्घ हङकङका अध्यक्ष मन बहादुर गुरुङ, तमु समाज हङकङका अध्यक्ष नरेन्द्र राज गुरुङ ‘आरेन्द्र’, प्रदेश नं. १ तमु समाज हङकङका अध्यक्ष हेम प्रताप गुरुङ, कार्यक्रमका मुख्य प्रायोजक राम गुरुङ सहित हङकङमा स्थापना भएका ७० भन्दा बढी नेपाली तथा गुरुङ सङ्घसंस्थाहरूलाई निमन्त्रणा गरिएको थियो।
गुरुङ जातिको शुभ कार्यमा गरिने संस्कार अनुसार कैदु काटेर उद्घाटन गरिएको कार्यक्रमलाई दुई भागमा सुचारु गर्दै पहिलो औपचारिक कार्यक्रम संस्थाको महासचिव विश्वास गुरुङले सञ्चालन गरेका थिए ।
दोश्रो भागको सांस्कृतिक कार्यक्रम जिफाहका संस्थापक उपाध्यक्ष सुवास गुरुङले सञ्चालन गरे । कार्यक्रममा ‘जिफाह साँझ-२’ को अवसर पारी परदेशमा रहेर पनि गुरुङ समुदायको भाषा, भेषभुषा तथा कलासंस्कृतिलाई संरक्षण एवं सम्वर्द्धन गर्न गुरुङ चलचित्रको माध्यमबाट निरन्तर रुपमा दिएको विशिष्ट योगदानको उच्च कदर गर्दै गुरुङ फिल्म एशोसियसन हङकङ(जिफाह) का संस्थापक अध्यक्ष तथा कलाकार रोशन गुरुङलाई गुरुङ समुदायको रीत अनुसार फेटा लगाई अभिनन्दनपत्र द्वारा सम्मान गरियो ।
गुरुङ फिल्म एशोसियसन हङकङ(जिफाह) संस्थापक उपाध्यक्ष, लेखक, निर्देशक तथा कलाकार गणेश गुरुङ सुवास र गुरुङ चलचित्र निर्माता एवं बरिष्ठ समाजसेवी राम गुरुङलाई गुरुङहरूको रीत अनुसार फेटा र सम्मानपत्र द्वारा सम्मान गरियो। सांस्कृतिक संयोजक गमन घले रहेको ‘जिफाह साँझ-२’ कार्यक्रमलाई भव्य बनाउनका लागि नेपालबाट कोरियोग्राफर साजन गुरुङ, गायिका उषा गुरुङ, नायक मनोज गुरुङ, आनन्द गुरुङ नायिका अनुसा गुरुङ, अन्जु गुरुङ, अमेरिकाबाट नायिका तथा निर्माता एन्सर्ज गुरुङ, अस्ट्रेलियाबाट नायक विश्वात्मा गुरुङ, हङकङबाट गायक मनोज गुरुङ, नायकहरू रोशन गुरुङ, गमन घले, विश्वास गुरुङ, ओम गुरुङ, नायिका तथा कलाकार सुनिता गुरुङ, मुस्कान गुरुङ, प्रिया गुरुङ, सिर्जना गुरुङ(ए), सिर्जना गुरुङ(बि) र सङ्गीता गुरुङ सहभागी बने ।
कार्यक्रममा जिफानका पूर्व अध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य वेद बहादुर गुरुङ ‘श्याम’ र जिफानका अध्यक्ष राज बहादुर गुरुङ ‘राजेश’ले समेत प्रस्तुती राखेका थिए। कार्यक्रममा गीत, संगीत,नाटक र लोक-पौराणिक नृत्यहरुबाट गुरुङ समुदायले बाह्रै महिना भित्र मान्दै आइरहेको मौलिक पर्व तथा संस्कार-संस्कृतिहरु झल्किने प्रस्तुतिहरु पस्किदै कलाकारहरुले दर्शकको ध्यान खिचेका थिए।