पोखरा । ‘बडा तिहार’ मनाउने खर्च जुटाउन सुर्खेतबाट लोपोन्मुख नेपाली जाति राउटेको टोली पोखरा आइपुगेको छ । राउटे मुखिया शेर बहादुर शाहीको नेतृत्वमा ७ जनाको टोली बडा तिहारको लागि एकसरो लुगा, चामल, तेल, दाल तथा खसीका लागि आवश्यक पर्ने रकम जुटाउन उनीहरु सुर्खेतबाट पोखरा आएका हुन् ।
पोखरामा सञ्चारकर्मीसँग कुराकानी गर्दै राउटे मुखिया शाहीले राउटेले मङ्सिरमा बडा तिहार मनाउने गरेको बताए । उनले १० वर्ष अगाडि समेत पोखरामा सहयोग उठाउन आएको स्मरण गरे । यहाँका मुख्यमन्त्री कार्यालय, सामाजिक विकास मन्त्रालय, नगरपालिका, प्रशासन, कर्मचारी लगायतबाट सहयोग पाउने आशामा उनीहरू पोखरा आएका हुन् ।
पोखराबाट राउटेलाई खुशी बनाएर पठाउँछ कि पठाउदैन हेर्न बाँकी भएको बताएका उनले यहाँका मन्त्री कर्मचारीलाई नभेटेर फर्किने हो भने आफ्नो समुदायका जनता रिसाउने बताए । बडा तिहारमा ७, * वटा खसी काट्न पर्ने र सोही अनुसार रासनपानी चाहिने भएकोले खर्च आवश्यक पर्ने गरेको उनले खुलाए ।
पहिला-पहिला घरको मुखिया आउने गरेको भएपनि उमेर बढ्दै गएका कारण यसपालि आफूहरूलाई पठाएको शाहीले खुलाए । आफ्नो उमेर ४२ पुगिसकेको बताएका शाहीले घर मुखिया आफू भन्दा २० वर्ष जेठो रहेको बताए । अहिले घर मुखिया टाढाको यात्रा गर्न सक्दैनन् ।
राउटे जातिलाई चाडपर्वको बेला खर्च जुटाउन र जाडो मौसममा एकसरो लुगा जुटाउन समेत समस्या हुने गरेको छ । कपडाको पाल टाँगेर बस्ने राउटेले प्लाष्टिकको पालको प्रयोग नगर्ने शाहीले बताए ।
सुर्खेतमा आफूहरूको ४६ घर धुरी रहेको र त्यसमा २ सयको हाराहारीमा जनसङ्ख्या रहेको उनको भनाइ छ । आफू राजपुतको १२ परिवारको मुखिया भएको बताएका उनले यहाँबाट सङ्कलन गरेर लगेको सहयोग ४६ वटै घरधुरीको लागि प्रयोग गरिने उनको भनाइ थियो । सुर्खेतबाट पोखरा आउँदा एक जनाको २ हजार ५ सय गाडी भाडा तिरेका उनीहरु घर मुखियाले पठाएको कारण आएको खुलाए । जति सक्दो छिटो सुर्खेत फर्किहाल्ने बताएका उनले बडा तिहार मंसिर ११ र १२ गते मनाउने खुलाए ।
सुर्खेतबाट पोखरा आएका उनीहरूले पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङसँग भेट गरे । महानगरपालिकाको तर्फबाट उनीहरूलाई केही आर्थिक सहयोग समेत गरिएको थियो ।