पोखरा । मंसिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनको निर्वाचन कार्यक्रम अनुसार मनोनयनपत्र दर्ता भएका मध्ये ३१ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट २८९ जना र १२१ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा ४१० जनाको रहेकोमा ३१ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगको सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।
ओखलढुङ्गा र कैलाली जिल्लाको जिल्ला समन्वय समिति प्रमुखमा क्रमश: नेपाली काँग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका छन् । साथै रुकुम (पूर्वी भाग) जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।
स्थानीय तह उपनिर्वाचन प्रयोजनको लागि दर्ता भएका २५ वटा राजनीतिक दलमध्ये हाम्रो नेपाल पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी), नेपाली काङ्ग्रेस (वि.पी.), नेपाली जनता दल र आम जनता पार्टी गरी ५ वटा राजनीतिक दलले कुनै पनि रिक्त पदका लागि उम्मेदवारी दर्ता गराएनन्।
निर्विरोध निर्वाचन सम्पन्न भएका तीन स्थान बाहेक ४१ स्थानका विभिन्न पदहरूमा २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत ३ सय ७६ जना उम्मेदवारलाई सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिह्न प्रदान गरिएको छ। निर्वाचन कार्यक्रम अनुसार भोलि मंसिर ६ गतेदेखि १३ गते राति १२ बजेसम्म उम्मेदवारहरूले प्रचार प्रसार गर्न सक्नेछन्। मंसिर १३ गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म निर्वाचन प्रचार प्रसार निषेध अवधि तोकिएको छ।
निर्वाचन आयोगको निर्णय अनुसार निर्वाचन आचारसंहिता मंसिर २ गतेदेखि जारी भइसकेकोले उक्त आचारसंहिताको अक्षरशः: पालना गरी निर्वाचन प्रचार प्रसारको कार्य गर्नु गराउन सम्बन्धित राजनीतिक दल, उम्मेदवार तथा निर्वाचन सरोकारवालाहरूलाई अनुरोध गरिएको छ । मंसिर १६ गते आइतबारका दिन बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने हुँदा मतदान कार्यमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न आयोगले सम्बन्धित सबै मतदाताहरूमा आह्वान गरेकाे छ ।