पोखरा । जिल्ला समन्वय समिति कास्कीले जिल्लामा सन्तुलित विकासको सन्दर्भमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गरेका थिए । प्रमुख आचार्यले विकासशील देशमा परिणत हुने तयारी गर्दै गर्दा सन्तुलित विकासका लागि सरोकारवाला कार्यालयहरू सहित स्थानीयहरूलाइ समेत सचेत गराउनुपर्ने उल्लेख गर्दै विकासका सबै सूचकाङ्क सकारात्मक बनाउन सबैको सामूहिक प्रयास जरुरी भएको बताए । नीति निर्माणका क्रममा देखिएका त्रुटि सच्याउँदै अगाडि बढ्न आग्रह गरे।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले विकास जनताका लागि भएको तथ्य स्मरण गर्दै वातावरण र प्रकृति मैत्री भौतिक विकासमा जोड दिए मात्रै लक्षित आर्थिक र सामाजिक विकास सम्भव हुने उल्लेख गर्दै त्यसतर्फ आफ्ना नीति कार्यक्रम केन्द्रित गर्न कास्कीका पालिका सहित आग्रह गरे ।
कार्यक्रममा तथ्याङ्क समन्वय कार्यालय पोखराका प्रमुख नन्दलाल सापकोटाले सामाजिक आर्थिक विकास र भौतिक विकासका सन्दर्भमा कार्यपत्र प्रस्तुत गरेका थिए। सापकोटाले सन्तुलित विकासले मात्रै दिगो विकासका लक्ष्य पूरा हुने र तब मात्रै समाजमा सकारात्मक परिवर्तन सम्भव हुने उल्लेख गरे ।
कार्यक्रममा रूपा गाउँपालिकाका प्रमुख नवराज ओझा, जिल्ला शिक्षा समन्वय इकाई कास्कीका कार्यालय प्रमुख लोकनाथ आचार्य, नागरिक समाजका अध्यक्ष राम बहादुर पौडेल, लेखनाथ उद्योग वाणिज्य सङ्घका महासचिव जानुका अधिकारी, होटल एसोसिएसन नेपालका उपाध्यक्ष गणेशराज पहारी, इन्सेक गण्डकीका प्रमुख शिव खकुरेल, पोखरा उद्योग बाणिज्य सङ्घका उपाध्यक्ष उत्तममान बुद्धाचार्य, एन जि ओ फेडेरेसन गण्डकीका अध्यक्ष पदम बहादुर पहारी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पतालका निर्देशक डाक्टर भरत खत्री, संघीय आयोजना कार्यान्वयन इकाई प्रमुख सुनिता श्रेष्ठ, सहितले सन्तुलित विकासका सन्दर्भमा आफ्नो धारणा राखेका थिए।
कार्यक्रममा कास्कीका पालिका प्रमुख, उप प्रमुख, बिकास सम्बद्ध कार्यालयका प्रमुखहरू, नागरिक समाज, उद्योग वाणिज्य र पर्यटन सम्बद्ध सङ्घ सङ्गठन सहितका सरोकारवालाहरूको उपस्थिति रहेको थियो । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बराल र स्वागत जि.स.स. कास्कीका सदस्य सीतादेवी विश्वकर्माले गरेका थिए ।