पोखरा । पोखरा महानगरपालिकाको स्वीकृत दरबन्दी बाहेकको पद/तहमा प्रदेश लोक सेवा आयोगमा माग आकृति फाराम भरी स्थायी पदपूर्तिको लागि लेखी पठाउने र स्थायी पदपूर्ति गराउने कार्यमा संलग्न जिम्मेवार कर्मचारीलाई नियमानुसार आवश्यक कारबाहीको माग सहित २९ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

कर्मचारी सङ्घ र सङ्गठनले आज निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यलाई उक्त ज्ञापनपत्र बुझाउदै पोखरा महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा हालसम्म पनि आफू खुसी करार/सेवा ज्यालादारीमा कर्मचारी नियुक्ति गर्ने प्रकृया निरन्तर जारी रहेकोले उक्त कार्य तत्काल रोकिनुपर्ने माग समेत गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईँलाई ज्ञापनपत्र बुझाउने समय लिएको भएपनि उनी निमित्त दिएर काठमाडौँ हिँडेपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरूले अन्यत्र पालिकाबाट प्रदेश सरकार मार्फत महानगरपालिकामा सरुवा भई आउनको लागी सहमति नदिने नगर कार्यपालिकाको २५ औ बैठकले गरेको निर्णय विपरित पूर्वाग्रहपूर्ण तरिकाले आस्थाका आधारमा सहमति दिने गरिएकोले सो कार्य तत्काल रोकिनुपर्ने, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दोहोरो सहमतिका आधारमा कामकाज गर्न पोखरा महानगरपालिकाबाट अन्यत्र पालिकामा र अन्यत्र पालिकाबाट पोखरा महानगरपालिकामा कामकाजमा खटाइएका कर्मचारीहरूको पदाधिकार कानुनतः नियुक्ति भएकै कार्यालयमा हुने र त्यसरी अन्यत्र पालिकामा कामकाज खटिई रिक्त पदमा सम्बन्धित पालिकाबाट प्रदेश लोक सेवा आयोगमा स्थायी पदपूर्तिको लागी माग हुने गरेको उल्लेख गरेका छन्।

उक्त पदहरूमा स्थायी पदपूर्ति हुने गरेकोले एकै पदमा एकभन्दा बढी कर्मचारीहरूको पदाधिकार रहने देखिएको एवं यसरी नियुक्ति भएका निज कर्मचारीहरूको सेवा, सुविधा, वृत्ति विकास र सेवाको सुरक्षामा अनिश्चितता पैदा भएकोले कानुनमा भएको व्यवस्था विपरीतको कार्य तत्काल रोकिनुपर्ने साथै त्यसरी नियुक्ति भएका कर्मचारीहरूको सेवा, सुविधा वृत्ति विकास र सेवाको सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाइएको पोखरा महानगरपालिका स्थानीय तह कर्मचारी सङ्गठन समन्वय समिति अध्यक्ष हरिलाल आचार्यले बताए ।

उनका अनुसार पोखरा महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, विभिन्न महाशाखाहरू, शाखाहरू, इकाइहरू, वडा कार्यालयहरू, सेवा केन्द्रहरू, अस्पताल तथा स्वास्थ्य संस्थाहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण हुन नसकिरहेको सन्दर्भमा अन्य निकाय वा तहबाट महानगरमा सरुवा सहमति दिने कार्य तत्काल बन्द गर्नुपर्ने समेत माग गरिएको छ ।

विज्ञप्तिमा महानगर स्थानीय तह कर्मचारी सङ्गठन समन्वय समितिका अध्यक्ष हरिलाल आचार्य, स्थानीय तह कर्मचारी सङ्घ नेपाल पोखरा महानगर समिति अध्यक्ष रेशम जि.सी, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल पोखरा महानगर समिति अध्यक्ष अर्जुुन खत्री, नेपाल निजामती कर्मचारी सङ्गठन पोखरा महानगर अध्यक्ष बेलकुुमारी गुुरुङले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0