पोखरा । युआरएल फाउन्डेसनले यस वर्षको लाइफ टाइम अचिभमेन्ट अवार्डबाट डा खगेन्द्रबहादुर श्रेष्ठ र राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पत्रकार जमुना वर्षा शर्मालाई सम्मान गर्ने भएको छ ।
नेपालको जनस्वास्थ्य क्षेत्रमा सामाजिक उत्तरदायित्व सहित लामो समय योगदान गर्ने चिकित्सक श्रेष्ठलाई २०८१ को लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गर्न लागिएको हो । ललितपुरको कुपन्डोल निवासी डा श्रेष्ठ पूर्वराजा वीरेन्द्र शाहका शाही चिकित्सकसमेत हुन् । ८९ वर्षीय श्रेष्ठ अहिले ब्लुक्रम अस्पतालका मेडिकल डाइरेक्टर छन् ।
नेपालसहित भारत, बेलायत, अमेरिकाबाट चिकित्साबारे अध्ययन र तालिम लिएका उनी अवकाश प्राप्त जर्नेल समेत हुन् । उनले वीरेन्द्र सैनिक अस्पताल, बेलायत र वेल्सका अस्पतालमा सेवा गरेका छन् ।
पत्रकार शर्मा राष्ट्रिय समाचार समिति र रेडियो जननीमा आवद्ध छिन् । पत्रकारिता पुरस्कारको राशि ३३ हजार ३ सय ३३ रुपैयाँ र सम्मानपत्र छ ।नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्षसमेत रहेकी वर्षा आमसञ्चारमा स्नातकोत्तर हुन् ।
गत वर्षबाट प्रदान गर्न थालिएको लाइफ टाइम अचिभमेन्ट अवार्डबाट पहिलो पटक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापक उपकुलपति प्राडा बुद्धिबहादुर थापालाई सम्मान गरिएको थियो । सुरुआतमा युआरएल पत्रकारिता पुरस्कारका रुपमा सञ्चालित पुरस्कार भने गत वर्षबाट ‘राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार’मा रुपान्तरण गरिएको हो । यो पुरस्कारबाट गत वर्ष दीपेन्द्र श्रेष्ठ सम्मानित भएका थिए ।
राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार र लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गर्न प्रेस स्वतन्त्रता सेनानी बदीविनोद प्रतीकको संयोजकत्वमा बनेको समितिले सर्वसम्मत अवार्ड र पुरस्कार दिने प्रतिभा छनोट गरेको हो । समितिमा वरिष्ठ जनरल सर्जन प्राडा अर्जुन आचार्य, स्वास्थ्य गुणस्तर विज्ञ सुशील थापा, युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्त, युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइराला र पूर्व पुरस्कृत व्यक्तित्व दीपेन्द्र श्रेष्ठ र पत्रकार फडिन्द्र अकिञ्चन सदस्य छन् ।
गण्डकी प्रदेशको पहिलो र लोकप्रिय रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)ले युआरएल फाउन्डेसन सामाजिक सेवाका लागि स्थापना र प्रवर्द्धन गरेको हो । युआरएलको ११ औं वार्षिकोत्सवमा मंसिर २३ गते हुने समारोहमा अवार्ड र पुरस्कार अर्पण गरिनेछ ।